
गोरखपुर, भारत । भारत–नेपाल आर्थिक सहकार्यलाई सुदृढ बनाउने उद्देश्यले आयोजित “भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६” मा नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्र (एसईजेड) मा लगानी विस्तार, व्यापार सहजीकरण तथा पूर्वाधार विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।
साथै रेल कनेक्टिभिटी विस्तारमा विशेष जोड दिनुपर्नेमा पनि सहमति जनाइएको छ। सो अवसरमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले नेपाल–भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई आर्थिक समृद्धि, व्यापार विस्तार, लगानी अभिवृद्धि र पर्यटन विकाससँग जोड्नुपर्ने आवश्यकता औँल्याए । उनले खुला सीमा, सांस्कृतिक निकटता र धार्मिक सम्बन्धले दुई देशबीच सहकार्यका प्रशस्त अवसर सिर्जना गरेको बताए ।
अध्यक्ष पोखरेलले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विमानस्थलहरू प्रभावकारी रूपमा सञ्चालन भएमा लुम्बिनी क्षेत्रको पर्यटन, व्यापार, होटल व्यवसाय तथा लगानी प्रवर्द्धनमा उल्लेखनीय टेवा पुग्नेछ । उनले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको बताए ।
लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई जोडेर संयुक्त बौद्ध पर्यटन सर्किट विकास गर्न सके दक्षिण एसियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने उनको धारणा थियो । अध्यक्ष पोखरेलले कृत्रिम बौद्धिकता (एआई) प्रविधि, डिजिटल भुक्तानी, सीमा व्यापार, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदको प्रवर्द्धनसँगै सुरक्षा चुनौती न्यूनीकरण र भारतजस्तो विशाल बजारमा नेपाली साना उत्पादनहरूले भोग्नुपरेका समस्याहरू समाधानका लागि नीतिगत सरलीकरण र सहज बजार पहुँच आवश्यक रहेको बताए । उनले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (एसईजेड) मा भारतीय उद्योग तथा लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण र व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन र निर्यात प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव थियो ।
भारतको गोरखपुरमा आयोजित भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६ अन्तर्गत भएको राउन्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउन निजी क्षेत्रको भूमिका अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रम भारत–नेपाल केन्द्र, भारतीय वाणिज्य तथा उद्योग चेम्बर (आईसीसीआई) को सहकार्यमा आयोजना गरिएको थियो। कार्यक्रममा अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य दिएका थिए भने आईसीसीआई का को–चेयर कामलेश जैनले स्वागत मन्तव्य दिएका थिए ।
भारतस्थित नेपाली दूतावासका तारानाथ अधिकारी, आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा तथा उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधि कृष्णप्रसाद शर्मा लगायतले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरण र सहकार्य विस्तारमा जोड दिएका थिए। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।


