काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजना तथा एसोसिएसन अफ प्रि स्कुल एडुकेटर्स नेपाल (अपेन) को सहकार्यमा “विद्यालय खेलकुद, शिक्षा तथा नेतृत्व २०२६” कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालय तहका विद्यार्थीमा खेलकुद, शिक्षा, नेतृत्व, अनुशासन, चरित्र निर्माण तथा जीवनोपयोगी सीपको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रमलाई भावी पुस्ताका च्याम्पियन, विद्वान् तथा सक्षम नेतृत्वकर्ता निर्माण गर्ने एक महत्वपूर्ण एवं दूरदर्शी पहलका रूपमा अघि बढाइएको एनएसएसएफका महासचिव राजकुमार कार्कीले जनाएका छन् ।
“शिक्षित बनाऔँ। सशक्त बनाऔँ। नेतृत्व गराऔँ। उत्कृष्ट बनाऔँ।” मूल सन्देश रहेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशसहित ६० जनाको सहभागिता रहेको थियो ।
एनएसएसएफका अनुसार विद्यालय तह नै प्रतिभा पहिचान, क्षमता विकास र नेतृत्व निर्माणको महत्वपूर्ण आधार भएकाले विद्यार्थीलाई कक्षाकोठादेखि खेलमैदान हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउने दीर्घकालीन संरचना विकास गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको महासचिव कार्कीले बताए । दुईदिने कार्यक्रमको एनएसएसएफका अध्यक्ष विनोद श्रेष्ठले उद्घाटन गरेका थिए ।

