बागलुङ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्का कारण क्षतिग्रस्त सडक र निजी आवास सरकारले छिट्टै पुनर्निर्माण गर्ने बताएका छन्।
शुक्रबार पश्चिम बागलुङको बाढीपहिरो संकटग्रस्तक्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले क्षतिग्रस्त मध्यपहाडी लोकमार्गको पुनर्निर्माण पहिलो प्राथमिकता रहेको बताए। मन्त्री लम्सालले बाढीपहिरोबाट घरबारविहीनलाई सुरक्षितस्थानमा आवास बनाउने सरकारको योजना अघि बढेको बताए।
उनले बाढीपहिरोका पीडितलाई खानपानका लागि मासिक रु १५ हजार राहतको पहिलो किस्ता निकासाको चरणमा रहेको र बागलुङका प्रत्येक ६ पालिकाको विपद् व्यवस्थापन कोषमा रु ४० लाखको दरले रकम पठाउने तयारी भइरहेको पनि जानकारी दिए।
उनले बाढीग्रस्तक्षेत्र गलकोटस्थित दरमखोला आसपास क्षेत्र, बढिगाड, निसीखोला ढोरपाटनको बुर्तिवाङ, निसीखोला गाउँपालिकाको झिवाखोला र कानाबगरलगायतको स्थलगत निरिक्षण गरेका थिए।
क्षतिग्रस्त सडकको पुनर्निर्माणका लागि आवश्यक योजना, प्राविधिक मूल्याङ्कन तथा सम्बन्धित निकायबाट गर्नुपर्ने पहलका विषयमा संकट भोगेका पालिकाका जनप्रतिनिधिसँग छलफल गरिएको थियो।
सरकारले पुनर्निर्माण र रहातका लागि बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र तमानखोला गाउँपालिकालाई संकट ग्रस्त क्षेत्रका रूपमा घोषणा गरेको छ ।

