चैत २, काठमाडौँ । चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा.केदारनरसिंह केसीले आफूले कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन् । तारकेश्वर नगरपालिका– वाड न ९, मनमैजुस्थित लोकतान्त्रिक चोकमा रहेको सरकारी जग्गा ओगटेको विषय सार्वजनिक भएपछि शनिवार स्थानीय जनप्रतिनिधि लगायतलाई सँगै राखि पत्रकार सम्मेलन गरेका थिए । उनले आफ्नो सार्वजनिक छवि बिगार्नका लागि आफूमाथि आरोप लगाएको भन्दै कुनै सरकारी जग्गा कब्जा नगरेको दाबी गरेका छन्।
उनले कित्ता नम्बर ६२ आफ्नो नाममा रहेको र कित्ता नम्बर ६२ सरकारको नाममा रहेको जिकिर समेत गरे । केसीले सरकारी जग्गामा आफूले भोगचलन नगरेको समेत स्पष्ट पारे । कित्ता नम्बर ६१ आफ्नो श्रीमतीको नाममा रहेको र उक्त कित्ता सार्वजनिक सडकमा हालेर सट्टापट्टा गरेर कित्ता नम्बर ६२ आफ्नो नाममा कायम भएको समेत उनले स्पष्ट पारे ।
केसीले अब सरकारको नाममा रहेको जग्गा नचाहिने र सरकारी जग्गा दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाए । केही दिनअघि बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठ र शिशिर खनालले लोकतान्त्रिक चोकको जग्गा कांग्रेस नेताको कब्जामा रहेको आरोप लगाएका थिए । डा. केसीले आफूमाथि लगाएको आरोपले आफू नडराउने समेत बताए ।