काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले बाग्मती प्रदेश सरकार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, नेपाल बास्केटबल संघको सहकार्यमा यही चैत ४ र ५ गते अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामाको आयोजना गर्दै छ ।
उक्त प्रतियोगिता त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा दुई दिन सम्म हुने उक्त प्रतियोगितामा पुरुष तर्फ ७ र महिला तर्फ ६ गरी १३ समूह सहभागी हुने नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघले शनिवार अर्थात् चैत २ गते जोरपाटी स्थित कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा संस्थाकी अध्यक्ष देवी आचार्यले जानकारी दिनु भयो ।
साथै उहाँले यस अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा महिला र पुरुष दुवै टिमको प्रथम हुने समूहले रु ५० /५० हजार, दोस्रो हुने समूहले रु ४० / ४० हजार र तृतीय हुने समूहले रु ३० / ३० हजार नगद पुरस्कार प्राप्त गर्ने, प्रतियोगिताको हाइ स्कोर र सर्वोत्कृष्ट खेलाडीले ३ / ३ हजार रुपैयाँ प्राप्त गर्ने पनि बताउनु भयो ।
शनिवार चैत २ गते आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका टेक्निकल हेड तथा कमिस्नर प्रेम सुन्दर होनाका अनुसार चैत ४ र ५ गते हुने अन्तर उपत्यका क्लब स्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा पुरुषतर्फ समूह ‘ए’ मा दुई विभागीय टोली एपिएफ र आर्मी सहित स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल र ह्विलचियर स्पोर्टस् एसोसिएसन सहभागी हुनेछन्। अर्को समूहमा बिआइए, नेपाल आदिवासी जनजाति अपाङ्ग संघ र आयोजक समूह नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ रहेका छन् ।
महिला समूह तर्फ भने समूह ‘ए’ मा एससिआइएनएन, राष्ट्रिय आदिवासी अपाङ्ग महिला संघ नेपाल (नीडवान्) र आयोजक समूह नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ रहने छन् । अर्को समूहमा जावलाखेल ह्विलचियर स्पोर्ट क्लब (जिडब्युएससी), डब्ल्युएसए र बिआइए रहने छन्। लिग कम नकआउट आधारमा हुने प्रतियोगिताको पहिलो दिन १५ खेल हुने छन् भने यी सबै लिग चरणका खेल सकिएसँगै दोस्रो दिन अर्थात् चैत ५ गते सेमिफाइनल, फाइनल, तेस्रो र चौथो स्थानका लागि प्रतिस्पर्धा हुने टेक्निकल हेड तथा कमिस्नर प्रेम सुन्दर होनाले जानकारी दिनु भयो ।
उक्त प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन् भने प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फ एपिएफ र एससिआइएनएन भिड्ने छन् । त्यसै गरी महिला तर्फ जावलाखेलले डब्ल्युएसएलाई चुनौती प्रस्तुत गर्ने छन् ।