
काठमाडौँ। अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले भिजिट भिसामा अघोषित प्रतिबन्ध लगाएर समस्याको समाधान नहुने बताएका छन्।
आइतबार कालिकास्थानस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक तिवारीले श्रम आप्रवासनको धरातलीय यथार्थ स्वीकार गरेर सुरक्षित नबनाएसम्म अध्यागमनदेखि भिजिट भिसाको समस्याहरु समाधान नहुने बताए।
उनले मानव तस्करी र स्वेच्छिक रुपमा विदेश जान चाहने व्यक्तिलाई एउटै नजरले हेर्न नहुने पनि बताए। उनले भिजिट भिसा दुरुपयोगका सम्बन्धमा भएको अनियमिततालाई मानव तस्करी भन्न नमिल्ने उल्लेख गरे।
उनले भिजिट भिसासम्बन्धी समस्या अध्यागमनका कर्मचारीको कमजोरी र नियतले नभई प्रणालीगत समस्याको कारण सिर्जित भएको उनको जिकिर थियो।
उनले अध्यागमन कार्यालयको पुनःसंरचना र कानूनी सुधार गर्नसके मात्र भिजिट भिसा दुरुपयोग रोक्न सकिने बताए। भिजिट भिसामा जाने मान्छेको भिसालाई वर्किङ भिसामा रुपान्तरण नगर्न कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ थियो।