
काठमाडौं । आफन्त नेपाल र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा वीरगन्जस्थित होटल दियालो, आदर्शनगरमा मानव बेचबिखन नियन्त्रणसम्बन्धी सीमा समन्वय बैठक सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण समिति पर्साका अध्यक्ष गणेश अर्यालले गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन प्रसाद सोनार थिए भने विशिष्ट अतिथि भारतीय महावाणिज्यदूतावास वीरगन्जका महावाणिज्यदूत देवी सहय मिना रहे।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्र, सरकारी वकिल कार्यालय पर्साका सहायक जिल्ला न्यायाधिवक्ता उमेश विजयश्री चौधरी, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्साका प्रमुख पूर्णचन्द्र भट्ट, राष्ट्रिय अनुसन्धान कार्यालय पर्साका उप–अनुसन्धान निर्देशक सन्तोष ढुङ्गेल, भारतको मोतिहारीस्थित बाल कल्याण समितिका सदस्य दिगविजय सिंह, जिल्ला बाल संरक्षण इकाईका चन्द्रदीप लगायत सरकारी तथा गैरसरकारी निकायका ५५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा आफन्त नेपालका उप–निर्देशक रामशरण पौडेल, प्रहरी उपरीक्षक गौतम मिश्र तथा आफन्त इन्डिया फाउन्डेसनका निर्देशक विनोद कुमार खातीले प्रस्तुति दिएका थिए। कार्यक्रमको स्वागत मन्तव्य र उद्देश्यबारे प्रकाश आफन्त नेपालकी क्षेत्रीय व्यवस्थापक उषा गुरुङले दिएकी थिइन् भने सञ्चालन मनु रानाले गरेकी थिइन्।
बैठकमा सीमापार मानव बेचबिखन तथा ओसारपसारका नयाँ चुनौतीहरू, उद्धार तथा स्वदेश फिर्तीमा देखिएका समस्या र समाधानका उपायहरूबारे गहन छलफल गरिएको थियो। साथै, नेपाल–भारत खुला सीमाबाट हुने सम्भावित आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यक पहल र दुई देशबीचको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा समेत सरोकारवालाबीच व्यापक छलफल गरिएको थियो।
बैठकमा सहभागी नेपाल–भारतका सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरुले मानव बेचबिखन नियन्त्रणका लागि निरन्तर समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।


