
सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्रेस काउन्सिल अध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षहरू तारानाथ दाहाल र शिव गाउँले, महासंघका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले आ-आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले मिडियाको गरिमा बढाउन र नियमन गर्नभन्दा पनि सरकारले मिडियालाई नियन्त्रण गर्ने उद्देश्यले यो विधेयक ल्याएको बताए। उनीहरूले यथास्थितिमा यो विधेयक पारित गर्न नहुने र यसलाई मिडिया सञ्चालक, पत्रकार तथा सरोकारवालाहरूको हितमा हुने गरी संशोधन गर्नुपर्नेमा जोड दिए।
सोसाइटीका महासचिव बोधराज त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा सोसाइटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त र दैनिक पत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाई लगायतको उपस्थिति थियो।
नेपाल मिडिया सोसाइटीले यस विषयमा सरोकारवालाहरूसँग थप छलफल गरेर विधेयकमा संशोधनको माग गर्दै सरकारलाई औपचारिक धारणा बुझाउने तयारी गरेको छ।


