काठमाडौं । कीर्तिपुर अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रबिलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। प्रदर्शनका क्रममा भएको आगलागीबाट गम्भीर घाइते भएकी चित्रकारको अहिले सघन उपचार केन्द्र (ICU) मा उपचार भइरहेको छ।
उपचारको नेतृत्व गरिरहेका जलनविज्ञ डा. किरण नकर्मीका अनुसार, चित्रकारको अवस्था अस्पतालमा ल्याउँदाको भन्दा सुधारोन्मुख छ। डा. नकर्मीले आज उनको देब्रे हातको शल्यक्रिया गरिने र त्यसपछि थप उपचार प्रक्रिया अगाडि बढाइने जानकारी दिए।
पूर्वप्रधानमन्त्री खनालका अनुसार, चिकित्सकहरूले चित्रकारको फोक्सो र देब्रे हातमा केन्द्रित भएर उपचार गरिरहेका छन्। आगलागीका कारण फोक्सोमा हानिकारक ग्यास पसेकाले समस्या देखिएको र देब्रे हातमा गम्भीर चोट लागेको उनले बताए। फोक्सोको समस्याका कारण शल्यक्रियाअघिको बेहोस पार्ने विधि (एनेस्थेसिया) प्रयोग गर्न समस्या भएको खनालले जानकारी दिए।
यसैबीच, पूर्वप्रधानमन्त्री खनालले आफ्नी पत्नीलाई योजनाबद्ध तरिकाले आगलागीमा पारिएको भन्दै उक्त घटनाको निन्दा र भर्त्सना गरेका छन्। उनले घटनामा संलग्नलाई कडा कारबाहीको माग पनि गरेका छन्। घरमा तोडफोड गर्ने, आगो लगाउने र लुटपाट गर्नेहरूको प्रमाण फेला परेको र ती प्रमाणहरू छिट्टै सार्वजनिक गरिने खनालले बताए।

