नुवाकोट। टोखाको मौलिक पहिचान बनेको परम्परागत चाकुलाई जोगाउन स्थापित टोखा परम्परागत चाकु संरक्षण समाजले आफ्नो छैटौं साधारण सभा तथा प्रथम अधिवेशन भव्यताका साथ सम्पन्न गरेको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित गुरुङ भिलेज रिसोर्टमा सम्पन्न अधिवेशनले समाजको नयाँ नेतृत्व चयन गरेको छ। जसमा बुद्ध श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
“ऐतिहासिक, परम्परागत, मौलिक टोखा चाकुको संरक्षण गरौं, स्वरोजगार उद्यमी युवा पुस्तालाई हस्तान्तरण गर्दै जाऔं” भन्ने मूलमन्त्रका साथ अगाडि बढिरहेको यस समाजको साधारण सभाले चाकु व्यवसायलाई नयाँ पुस्तासम्म पुर्याउने र उनीहरूलाई आत्मनिर्भर बनाउने विषयमा व्यापक छलफल गरेको थियो।
निवर्तमान अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता र टोखा नगरपालिका–३ का अध्यक्ष रमेश डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न यस कार्यक्रममा समाजका १८ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत रूपमा चयन भएको छ।
कार्यक्रममा टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, टोखाका मूल नाइके हेमराज श्रेष्ठ, समाजका ज्येष्ठ नागरिक तथा पत्रकार लगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन समाजका महासचिव रामराज श्रेष्ठले गरेका थिए।
