ललितपुर । लायन्स क्लब बालकुमारी साँग्लाको आयोजनामा मेधा अस्पताल र ॐ समाज डेण्टल अस्पतालको संयुक्त सहकार्यमा ललितपुरको चापागाउँ दोबाटोमा आयोजित निःशुल्क (मधुमेह तथा दन्त) स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। स्थानीय समुदायलाई घर नजिकैबाट गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस शिविरमा ठूलो संख्यामा सर्वसाधारणले सहभागिता जनाएका थिए।
शिविरमा दन्त–स्वास्थ्य, सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप, मधुमेह (सुगर) लगायतका प्रमुख रोगहरूको प्रारम्भिक जाँच गरी विशेषज्ञद्वारा स्वास्थ्य परामर्श प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
शिविर व्यवस्थापक धन घिमिरेका अनुसार शिविरमा १०२ जनाको मधुमेह परीक्षण गरियो भने ३०३ जनाले दन्त–स्वास्थ्य सेवा लिए। उनले सो सेवामध्ये ५२ जनाभन्दा बढीको दाँत सफा (स्केलिङ) गरिएको जानकारी दिए।
डा. सुवास घिमिरेले नियमित स्वास्थ्य परीक्षण, सही खानेकुरा र जीवनशैलीमा सुधारको महत्त्वमा जोड दिँदै, पैसाको अभावका कारण कोही पनि उपचारबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको बताए।
लायन्स क्लब बालकुमारी साँग्लाका अध्यक्ष बिकाश राज कुँवरले आजको शिविर अत्यन्तै प्रभावकारी भएको उल्लेख गर्दै भने, “हाम्रो क्लबले धेरै स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। तर आज ॐ समाज डेण्टल अस्पतालसँगको सहकार्य विशेष रूपमा फलदायी भयो, किनभने ७६ वर्षकी एक आमाले आवश्यक उपचार पाउनुभयो। यो हाम्रो कामको वास्तविक सफलताको उदाहरण हो।”
आयोजक संस्थाहरूले आगामी दिनमा पनि समुदायमुखी निःशुल्क स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
