काठमाडौं । टोखा नगरपालिका वडा नम्बर ९ द्वारा आयोजित सात दिने ‘युवा आइटी तथा आधारभूत पत्रकारिता तालिम’ मंगलबार एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको छ। वडा कार्यालयको हलमा सञ्चालन गरिएको उक्त तालिममा स्थानीय युवा, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पाका उमेरका नागरिकहरूको समेत उत्साहजनक सहभागिता रहेको थियो।
सात दिनसम्म चलेको उक्त तालिममा सहभागीहरूलाई पत्रकारिताको अवधारणा, समाचारका आधारभूत तत्व, समाचार पहिचान गर्ने तरिका र पत्रकार आचारसंहिताका बारेमा विस्तृत जानकारी दिइएको थियो। पछिल्लो समय प्रविधिको दुरुपयोग र ‘गलत सूचना’ (Misinformation) बाट सिर्जित चुनौतीहरूलाई मध्यनजर गर्दै सामाजिक सञ्जालमा भाइरल हुने प्रवृत्तिका जोखिमबारे समेत गहन छलफल गरिएको थियो।
तालिमका बारेमा आफ्नो अनुभव सुनाउँदै सहभागी मीना दाहाल गुरागाइँले प्रविधिमैत्री जीवनका लागि यो तालिम निकै फलदायी भएको बताउनुभयो। अर्की सहभागी जानुका नेपालले पत्रकारिता र प्राविधिक ज्ञान सबै पेशाका लागि अनिवार्य भइसकेको बताउँदै यसलाई व्यावसायिक रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यस्तै, द्वारीका कुइँकेलले पाको उमेरमा पनि नयाँ सीप सिक्न पाउँदा खुसी लागेको अनुभव सुनाउनुभयो।
तालिमलाई सञ्चार क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले सहजीकरण गर्नुभएको थियो। प्रशिक्षकहरूमा योहो टेलिभिजनका प्रधानसम्पादक जीवराम भण्डारी, प्रेस काउन्सिल नेपालका सदस्य बालकृष्ण बस्नेत, नेपाल रिपब्लिक मिडियाका सम्पादक तेजेन्द्र काफ्ले, न्यूज २४ का प्रस्तोता विरेन्द्र जैरू, र हिमालयन टेलिभिजनका प्रस्तोता भूपाल लुइटेल हुनुहुन्थ्यो। साथै टंक खनाल, युवराज गौतम र अमृत थापाले पनि सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।
समापन सत्रलाई सम्बोधन गर्दै टोखा-९ का वडाध्यक्ष रामभक्त घिमिरेले सिकेको सीपलाई वडाका सकारात्मक कार्यहरूको प्रचार गर्न र सुधार गर्नुपर्ने ठाउँमा रचनात्मक सुझावसहितको खबरदारी गर्न प्रयोग गर्न आग्रह गर्नुभयो।
वरिष्ठ पत्रकार जीवराम भण्डारीले फरक उमेर समूहका व्यक्तिहरूमा देखिएको सिक्ने चाहनाको प्रशंसा गर्दै प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतार्न सुझाव दिनुभयो। वडा कार्यालयले नागरिकलाई सचेत र प्रविधिमैत्री बनाउन चालेको यो कदमको सहभागीहरूले उच्च प्रशंसा गरेका छन्।

