
काठमाडौं । नेपाल सरकारले आगामी माघ १ गते ‘चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवस’ भव्य रूपमा मनाउने भएको छ। यस वर्ष “कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदाः संरक्षण, उपयोग र प्रवर्द्धनमा युवा सहभागिता” भन्ने मूल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा वृहत् रैथाने कृषि मेला आयोजना गरिन लागेको हो।
नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र र रैथाने एग्री प्रडक्ट्स नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो। मेलाको समुद्घाटन कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. मदन प्रसाद परियारले गर्ने कार्यक्रम तय भएको छ।
मेलाका मुख्य आकर्षणहरू:
देशभरका रैथाने बीउबिजन र कृषि उपजहरूको प्रदर्शनी तथा बिक्री।
परम्परागत कृषि प्रविधि र औजारहरूको विशेष प्रदर्शनी।
सातै प्रदेशका मौलिक खानाका परिकारहरूको स्वाद लिन पाइने।
मौलिक साँस्कृतिक झाँकी, नृत्य र कविता प्रस्तुति।
कृषि विज्ञहरूबाट रैथाने बाली र पोषणसम्बन्धी परामर्श।
नेपाली माटो र मौलिकताको संरक्षण गर्दै नयाँ पुस्तालाई कृषिमा आकर्षित गर्ने उद्देश्यले आयोजित यो मेला माघे संक्रान्तिको दिन बिहानदेखि साँझसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।


