काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट आगजनीबाट क्षतिग्रस्त बनेको १५२ दिनपछि पुनः सञ्चालनमा आएको छ । पुनर्निर्माणपछि अझ भव्य र व्यवस्थित स्वरूपमा तयार गरिएको स्टोरको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा भाटभटेनीका अध्यक्ष एवं प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रवेशद्वारमा “हे भगवान! अब उप्रान्त मेरो देशमा यस्तो कहिल्यै नहोस्” भन्ने भावनात्मक सन्देशसहित सबैलाई सकारात्मक यात्रामा अघि बढ्न आह्वान गरे ।
समारोहमा बोल्दै अध्यक्ष गुरुङले विगतको घटनालाई स्मरण गर्दै अब देशले नकारात्मकता त्यागेर निर्माण, श्रम र समृद्धिको बाटो समात्नुपर्ने बताए । उनले भने, “नेपालको सबै नकारात्मकतालाई भदौ २३ सँगै जलाएर अगाडि बढौँ । त्यो दिनको आगोसँगै खराब सोचहरू पनि खरानी भए । अब सकारात्मक सोच लिएर कर्म गरौँ, भोलिका लागि योजना बनाऔँ ।” उनले मुलुकका नागरिक समृद्ध बन्ने लक्ष्यसहित निजी क्षेत्र, श्रमिक र उपभोक्ता सबै मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।
गुरुङको भनाइले कार्यक्रममा उपस्थित व्यवसायी, कर्मचारी तथा सर्वसाधारणको ध्यान खिचेको थियो। धेरैले यसलाई विपत्तिबाट उठेर अझ सशक्त रूपमा अघि बढ्ने सन्देशका रूपमा लिएका छन् । आन्दोलनका क्रममा देशभर भाटभटेनीका विभिन्न शाखामा क्षति पुगेको थियो । कोटेश्वर शाखा पुनः सञ्चालनमा आएसँगै स्थानीय व्यापार, रोजगारी र उपभोक्तालाई सेवा प्रवाहमा सहजता आउने अपेक्षा गरिएको छ ।
पुनः शुभारम्भसँगै भाटभटेनीले विगतलाई पाठका रूपमा लिँदै सहकार्य, एकता र सकारात्मक परिवर्तनतर्फ उन्मुख हुन सबैमा अपिल गरेको छ ।

