
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी वार्षिक साधारणसभा एक दिन पर सरेको छ। महासंघको आगामी चुनावी सभा २९ र ३० गते काठमाडौंमा हुनेछ । उद्घाटन होटेल रोयल ट्युलिपमा हुनेछ भने निर्वाचन कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा हुने छ ।
वार्षिक साधारणसभा चैत २८ र २९ मा हुने भनिएको भए पनि एक दिन पछि धकेलेर चैत २९ र ३० गतेलाई सारिएको हो ।
नयाँ कार्यकारी समिति सदस्यका लागि भावी अध्यक्ष अन्जन श्रेष्ठ र बहालवाला अध्यक्ष चन्द्र प्रसाद ढकालको टिमबीच प्रतिस्पर्धा हुँदैछ। अन्जन श्रेष्ठको टिमबाट वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार घोषणा हुन बाँकी छ । तर, यो टिमबाट सुरकृष्ण वैद्यलाई वरिष्ठ उपाध्यक्षमा अगाडि सार्ने तयारी भइरहेको छ । चार उपाध्यक्ष लगायतका पदका उम्मेदवार यहि चैत ९ गते घोषणा गर्ने कार्यक्रम यो टिमको छ।
अन्जन श्रेष्ठको टिममा जिल्ला नगर उपाध्यक्षको लागि वस्तुगत उपाध्यक्षमा शिव घिमिरे तथा एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डेको चर्चा छ । जिल्ला नगर उपाध्यक्षमा कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ छन् ।
त्यस्तै, चन्द्र ढकालले आफ्नो भनेर घोषणा नगरेपनि आफुहरुलाई ढकालको प्रत्यक्ष साथ् सहयोग रहेको भन्दै हेमराज ढकालले आफुलाई वरिष्ठ उपाध्यक्षमा अघि सार्दै आफ्नो टिम घोषणा गरेका छन् । ढकालको टिममा एसोसियटमा जोत्सना श्रेष्ठ, वस्तुगतमा नरेशलाल श्रेष्ठ, जिल्लानगरमा उमेश दालमिया र कल्पना गैरेले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।


