
काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८३ का लागि लागू हुने बैंक विदा तथा सेवा सञ्चालनसम्बन्धी तालिका सार्वजनिक गरेको छ । राष्ट्र बैंकअन्तर्गत मानव संसाधन व्यवस्थापन विभागले सार्वजनिक गरेको विवरणअनुसार २०८३ सालमा कुल ३५ दिन बैंक विदा रहनेछन् । यी विदा विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ ।
सूचना अनुसार विदा बाहेकका दिनमा वर्षको समयावधिअनुसार बैंक तथा वित्तीय संस्थाको सेवा समय फरक–फरक रहने व्यवस्था गरिएको छ । वैशाख १ देखि कात्तिक १५ गतेसम्म तथा माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन हुनेछ। त्यसैगरी कात्तिक १६ देखि माघ १५ सम्म सेवा समय घटाई बिहान १० बजेदेखि साँझ ४ बजेसम्म कायम गरिनेछ ।
साप्ताहिक रूपमा प्रत्येक शुक्रबार बैंकहरू सीमित समयका लागि मात्र खुल्नेछन् । उक्त दिन बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म मात्र सेवा उपलब्ध हुने व्यवस्था गरिएको छ ।
त्यस्तै बैंकिङ कारोबार सञ्चालनको समय पनि मौसमअनुसार समायोजन गरिएको छ। वैशाख १ गतेदेखि कात्तिक १५ सम्म तथा माघ १६ देखि चैत मसान्तसम्म कारोबार समय बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहनेछ । कात्तिक १६ देखि माघ १५ सम्म भने कारोबार समय बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म रहनेछ ।


