
काठमाडौं । प्रत्येक वर्ष अप्रिल २ मा मनाइने ‘विश्व अटिजम सचेतना दिवस’ यस वर्ष पनि नेपालमा विविध चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ । “Celebrate Difference, Autism and Humanity – Every Life has Value” भन्ने विश्वव्यापी नारासहित मनाइँदै आएको यो दिवसले अटिजमप्रति समाजमा बुझाइ र स्वीकार्यता बढाउने सन्देश दिएको छ । सन् २०२१ को सिडिसी (CDC) को तथ्याङ्कअनुसार विश्वमा हरेक ३१ मध्ये १ बालबालिकामा अटिजम देखिने गरेको छ । बढ्दो यस अवस्थालाई चुनौतीका रूपमा लिँदै अटिजमलाई रोग नभई मस्तिष्कको विशेष अवस्थाका रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
अटिजम भएका बालबालिकालाई भविष्यमा आत्मनिर्भर बनाउन सानै उमेरदेखि समयसापेक्ष हस्तक्षेप आवश्यक पर्ने विज्ञहरू बताउँछन् । यस सन्दर्भमा अटिजम केयर नेपाल सोसाइटीकी अध्यक्ष डा. सुनिता मलेकु अमात्य ले अटिजम भएका बालबालिकाको सक्षमता अनुसार सही तालिम र मार्गनिर्देशन दिनुपर्नेमा जोड दिँदै भनिन्, “उनीहरूको क्षमता पहिचान गरी सही दिशामा अगाडि बढाउन सके उनीहरू पनि समाजका सक्षम र आत्मनिर्भर नागरिक बन्न सक्छन् ।”
त्यस्तै, अटिजम केयर नेपाल सोसाइटी (ACNS) का कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्य ले अटिजम भएका व्यक्तिहरूलाई समाजमा अवसर र सम्मान दिनुपर्ने आवश्यकता औंल्याउँदै समावेशी सोचको विकास अपरिहार्य रहेको बताए । उनले अटिजमलाई बुझ्ने मात्र नभई व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।
यस वर्ष एसीएनएसले टक–शो, सडक नाटक, अभिभावक तथा शिक्षकका लागि तालिम, कला प्रदर्शनी र फ्ल्यास मब जस्ता कार्यक्रमहरू आयोजना गरेको छ । जावलाखेलस्थित ललित मण्डपमा निलो बत्ती बालेर सचेतना फैलाइएको छ भने अभिभावक, प्रशिक्षक, समाजसेवी तथा सरकारी प्रतिनिधिहरूको सहभागिता उल्लेख्य रहेको छ ।
कार्यक्रमको अर्को विशेष आकर्षण अटिजम भएका व्यक्तिका दाजुभाइ तथा दिदीबहिनी (Siblings) को भूमिकालाई केन्द्रमा राख्नु हो । उनीहरूको अनुभव र चुनौतीलाई समाजसामु ल्याउन ‘सिब्लिङ पोडकास्ट’ सञ्चालन गरिएको छ ।
कार्यक्रम प्रस्तोता लक्ष्मी कार्की ले अटिजमबारे सकारात्मक सन्देश फैलाउन सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताइन् । अटिजम जीवनभर रहने अवस्था भएकाले उमेर अनुसार आवश्यक सेवा, सीप र सहयोग पनि परिवर्तन हुँदै जान्छ । समाजले उनीहरूको फरकपनलाई स्वीकार्दै अवसर प्रदान गर्न सके अटिजम भएका व्यक्तिहरू पनि राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास व्यक्त गरिएको छ ।