
काठमाडौं । स्वतन्त्र पत्रकार संघ नेपाल, जिल्ला शाखा काठमाडौंले नयाँ वर्ष २०८३ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। चैत २६ गते राजधानीमा आयोजित एक विशेष समारोहका बीच पत्रकारिता क्षेत्रमा दुई दशकदेखि निरन्तर योगदान पुर्याउँदै आएका दुई विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको हो।
वरिष्ठ पत्रकारद्वय सम्मानित पत्रकारिताको गरिमा उच्च राख्न र समाजलाई सुसूचित गर्न २० वर्षदेखि सक्रिय पत्रकारद्वय मायालु लामा र रविराज रिमाललाई यस वर्षको ‘स्वतन्त्र पत्रकार सम्मान’ प्रदान गरिएको छ। उहाँहरूलाई सम्मानपत्र र नगदसहित कार्यक्रमका प्रमुख अतिथि चर्चित विश्लेषक प्रा.डा. सुरेन्द्र केसी र संघका काठमाडौं अध्यक्ष कृष्णराज तिमल्सिनाले सम्मान गर्नुभएको थियो।
कार्यक्रमका बारेमा प्रकाश पार्दै कार्यक्रम संयोजक एवं काठमाडौं शाखाकी पूर्व उपाध्यक्ष सावित्रा बस्नेतले श्रमजीवी पत्रकारहरूको मनोबल उच्च राख्न र उनीहरूको योगदानको कदर गर्न संघले यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।
राजनीतिक नेतृत्वमाथि प्रा.डा. केसीको तिखो टिप्पणी कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसीले वर्तमान राजनीतिक अवस्था र नेतृत्वको कार्यशैलीप्रति कडा आलोचना गर्नुभयो। उहाँले भन्नुभयो, “अघिल्लो संसदमा रहेका प्रमुख दलका नेताहरू आफैंले ल्याएको व्यवस्थाबाट भयभीत देखिन्छन्। लोकतान्त्रिक संस्कार र अभ्यासको अभावका कारण उनीहरूमा भोलि के होला भन्ने त्रास व्याप्त छ।” उहाँले पत्रकारहरूलाई पनि निर्भीक भएर सत्यको पक्षमा कलम चलाउन आग्रह गर्नुभयो।
पत्रकारिता पूर्ण स्वतन्त्र हुनुपर्छ: अध्यक्ष तिमल्सिना कार्यक्रमको समापन गर्दै सभापति एवं काठमाडौं जिल्ला शाखाका अध्यक्ष कृष्णराज तिमल्सिनाले पत्रकारिताको धर्म र निष्पक्षतामाथि जोड दिनुभयो। उहाँले भन्नुभयो, “जबसम्म पत्रकारिता पूर्ण रूपमा स्वतन्त्र हुँदैन, तबसम्म यसले समाजप्रतिको वास्तविक जिम्मेवारी पूरा गर्न सक्दैन। स्वतन्त्र पत्रकारहरूको हकहित र सुरक्षाका लागि हाम्रो संगठन सदैव ढाल बनेर उभिनेछ।”
शुभकामना मन्तव्य र उपस्थिति संघका पूर्व अध्यक्ष पुष्कर पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। शुभकामना दिने क्रममा टोखा–९ का वडा अध्यक्ष रामभक्त घिमिरे, विनायक अस्पतालका प्रबन्ध निर्देशक केपी लामिछाने, संघका केन्द्रीय महासचिव सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकारहरू श्रीराम पुडासैनी र इन्दुल केसी लगायतले स्वतन्त्र पत्रकारिताको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा ललितपुर जिल्ला अध्यक्ष सरिता थपलिया, पूर्व अध्यक्ष उपेश नवक, सल्लाहकार कृष्ण सापकोटा, राष्ट्रिय अभिभावक संघका गोविन्द प्रसाद भूषाल, आम नेपाली टेलिभिजनका डोल प्रसाद थापा र बालाजु प्रहरी वृत्तका डिएसपी यमराज बञ्जाडे लगायतको विशिष्ट उपस्थिति रहेको थियो।


