
चेन्नई, भारत । नेपाली राजदूतावास, नयाँ दिल्लीको आयोजना र सामाजिक संस्था किन ईन्डिया दिल्लीको सहआयोजनामा भारतको चेन्नईमा “श्रमिक सचेतना तथा मानव बेचबिखन विरुद्ध अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको आयोजना भारतमा रहेका नेपाली श्रमिकहरूलाई भारतीय श्रमसम्बन्धी कानुन र मानब बेचबिखन न्यूनीकरणबारे जानकारी दिनका लागि गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि भारतका लागि नेपाली राजदुत डा. शंकर प्रसाद शर्माले नेपाली श्रमिकहरूले भोगिरहेका कानुनी समस्याहरू समाधानका लागि दुतावासबाट लिन सकिने सेवा र सहयोगबारे जानकारी गराएका थिए । उनका अनुसार दुताबासले भारतमा बिभिन्न ठाउँहरूमा मानव बेचबिखन र तस्करीमा परेका नेपालीहरूको उद्धार र स्वदेश फीर्ति गर्नका लागि किन इण्डिया जस्ता संस्थासँग सहकार्य गर्ने गरेको जानाकारी दिए ।
कार्यक्रममा आफ्नो प्रस्तुतिकरण मार्फत किन ईन्डिया दिल्लीका निर्देशक नवीन जोशीले बिभिन्न प्रलोभनमा बेचबिखन र तस्करी गरिएको जानकारी गराउँदै संस्थाले उनीहरूको उद्धार र स्वदेश फीर्ति गरिरहेको जानाकारी गराए । उनले रोजगारीका लागि भारत पुगेका नेपाली श्रमिकहरूलाई नियम, कानुन थाहा नहुनुका कारण विभिन्न समस्यामा पर्नुपरेको बताए । कार्यक्रममा नेपाली दुतावासका काउन्सिलर मिनिस्टर अम्बिका जोशीले आधारकार्ड, बैंक खाता, नो अब्जेक्सन लेटर लगायतका सन्दर्भमा नेपाली श्रमिकहरूका समस्याहरू समाधानका लागि दुतावास सदैव श्रमिकको पक्षमा रहेको जानकारी गराएका थिए ।
त्यसैगरी दुतावासका काउन्सिलर तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रकाश मल्लले आफू रहेको देश तथा राज्यको कानून पालना गर्न नेपाली समुदायलाई सचेत गराएका थिए । किन इण्डियाका ग्लोबल संयोजक इन्द्रराज भट्टराईले संचालन गरेको उक्त कार्यक्रममा सयौं नेपाली श्रमिकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा चेन्नई स्थित बिभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, व्यवसायी, कानुन व्यवसायी, विद्यार्थी तथा पत्रकारहरूको समेत सहभागिता रहेको थियो । उनीहरूका अनुसार भारतमा बिभिन्न ठाउँहरूमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूले विविध समस्या भोग्नुपरेको, कतिपय नेपालीहरू मानव बेचबिखन र तस्करीमा पर्ने गरेको पृष्ठभूमिमा यस्ता सचेतनामूलक कार्यक्रमले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।