
काठमाडौं । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष २०८३ को अवसर पारेर आफ्ना ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक योजनाहरू सार्वजनिक गरेको छ । “सबल बैंक, सफल सहकार्य” भन्ने नारासहित सेवा प्रदान गर्दै आएको बैंकले यस वर्षलाई डिजिटल प्रवर्द्धन वर्षको रूपमा मनाउने योजना अघि सारेको छ ।
यसअन्तर्गत बैंकको मोबाइल एप “महालक्ष्मी स्मार्ट साथी” प्रयोगकर्ताहरूलाई विशेष सुविधा दिइनेछ । बैशाख महिनाको पहिलो हप्ताभित्र मोबाइल बैंकिङमार्फत कम्तीमा एक सफल कारोबार गर्ने सक्रिय प्रयोगकर्तामध्ये गोलाप्रथाद्वारा ३ जनालाई आकर्षक भ्रमण प्याकेज प्रदान गरिनेछ । विजेताहरूले आन्तरिक पर्यटन अन्तर्गत पोखरा, चितवन र मनकामना आफ्नो जोडीसहित भ्रमण गर्ने अवसर पाउनेछन् ।
डिजिटल बैंकिङलाई थप प्रोत्साहन गर्न बैंकले रिवार्ड पोइन्ट प्रणालीलाई अझ विस्तार गर्ने जनाएको छ । मोबाइल बैंकिङ प्रयोगकर्ताले डिजिटल कारोबार गर्दा प्राप्त गर्ने रिवार्ड पोइन्ट एपमै जम्मा हुनेछ, जसलाई निश्चित सर्तहरू पूरा गरी विभिन्न सामान खरिद वा अन्य सेवामा प्रयोग गर्न सकिनेछ । उक्त एप प्ले स्टोर तथा एप स्टोरबाट सजिलै डाउनलोड गर्न सकिन्छ ।
यसैगरी, नयाँ वर्षकै अवसरमा बैंकले सुलभ ब्याजदरमा “महालक्ष्मी घर कर्जा” योजना पनि ल्याएको छ । यस अन्तर्गत घर वा जग्गा खरिद, निर्माण, अपार्टमेन्ट किन्न, तथा मर्मत–सम्भार गर्न २ वर्षदेखि ३० वर्षसम्मको अवधिमा कर्जा उपलब्ध गराइनेछ, जसमा ७ वर्षसम्म स्थिर ब्याजदरको सुविधा पनि रहनेछ ।
हाल बैंकका देशभर १०३ शाखा तथा करिब ८ लाख ५० हजारभन्दा बढी ग्राहक रहेका छन् ।