दमक । नेपाली सेफहरूको व्यावसायिक दक्षता अभिवृद्धि र मौलिक नेपाली खानपानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ झापाको दमकमा ‘खुला कुकिङ प्रतिस्पर्धा तथा खाना महोत्सव’ आयोजना हुने भएको छ । बुधबार दमकमा आयोजित एक पत्रकार सम्मेलनमार्फत आयोजक संस्थाहरूले आगामी २०८३ साल जेठ १ र २ गते सो कार्यक्रम सञ्चालन हुने जानकारी दिएका हुन् ।
नेपाली सेफ सोसाइटी, इन्टरनेशनल सेफ सोसाइटी, र युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । “नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान” पत्रकार सम्मेलनमा बोल्दै आयोजक इन्टरनेशनल सेफ सोसाइटीका अध्यक्ष अरुण अधिकारीले नेपाली मौलिक स्वादलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन र स्थानीय पर्यटनलाई टेवा पुर्याउन यो महोत्सव कोसेढुङ्गा सावित हुने बताए ।
कार्यक्रमको मूल नारा “नेपाली सेफहरूको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिका लागि हाम्रो अभियान” तय गरिएको वहाँको भनाइ छ । दुई दिनसम्म चल्ने यस महोत्सवमा विभिन्न परिकारका स्टलहरू राखिनुका साथै उत्कृष्ट सेफहरूलाई पुरस्कृत समेत गरिने इन्टरनेशनल सेफ सोसाइटीका महासचिब दिपक कार्कीले बताउनु भयो ।
यहाँ बिस्वका बिभिन्न देशमा रहेका नेपाली सेफहरु दमक आउनेक्रम सुरु भएको छ । अन्तर्राष्ट्रिय सेफहरु समेत कार्यक्रममा आउने जनाइएको छ ।
