
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक तथा धार्मिक स्थल स्वयम्भू क्षेत्रमा ‘पुर्खाको पौरख, नेपालीको गौरव’ भन्ने मूल नाराका साथ ‘दोस्रो स्वयम्भू महोत्सव २०८३’ आजदेखि भव्य रूपमा सुरु भएको छ। काठमाडौँ महानगरपालिका वडा नं. १५ द्वारा आयोजित यो महोत्सव वैशाख १२ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ।
महोत्सवको औपचारिक उद्घाटन स्वयम्भूस्थित शान्ति पोखरीमा एक विशेष समारोहका बीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। सो अवसरमा प्रमुख अतिथि डंगोल र अन्य विशेष अतिथिहरूले शान्तिको प्रतीकस्वरूप परेवा उडाएर महोत्सवको सफलताको कामना गर्नुभएको थियो।
महोत्सव अवधिभर वडा नं. १५ अन्तर्गतका विभिन्न स्थानहरू— किम्डोल, चमती, विजेश्वरी, डल्लु चौतारा र माल्चाटार (डल्लु आवास) क्षेत्रमा विविध धार्मिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएको छ।


