
काठमाडौं । टोखा नगरपालिकाले नगरवासीको स्वास्थ्य परीक्षण तथा उपचारलाई सहज बनाउन ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ वडास्तरमै विस्तार गर्ने भएको छ । कार्यक्रम आगामी वैशाख २० गतेदेखि सुरु हुँदैछ र पूर्ण रूपमा निःशुल्क हुनेछ । नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम र विशेषज्ञ सेवासहितको कार्यक्रम सञ्चालनका लागि आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ ।
यसअघि चण्डेश्वरी प्रदेश अस्पताल र वडा नं. ११ मा सीमित सेवा अब सबै वडामा विस्तार गरिने नगर प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयाे । कार्यक्रम वडा नं. ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट शुभारम्भ भई प्रत्येक वडामा तीन–तीन दिन सञ्चालन गरिनेछ । पहिलो दिन ३० वर्षमाथिका नागरिकको नसर्ने रोग स्क्रिनिङ, दोस्रो दिन ज्येष्ठ नागरिक र लक्षित समूहका लागि विशेषज्ञ सेवा तथा परीक्षण, र तेस्रो दिन रिपोर्टका आधारमा निःशुल्क औषधि वितरण र परामर्श गरिनेछ ।
नगरप्रमुख अधिकारीका अनुसार रोग लागेपछि उपचारभन्दा पहिल्यै पहिचान र जोखिम न्यूनीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रममार्फत अहिलेसम्म स्वास्थ्य परीक्षण नगराएका नागरिकलाई पनि समेटिनेछ । हाल नगरपालिकाले चण्डेश्वरी प्रदेश अस्पताल तथा विभिन्न स्वास्थ्य केन्द्रबाट ल्याव सेवा दिँदै आएको छ ।
क्षति पुगेको वडा नं. ११ को स्वास्थ्य केन्द्र पुनः सञ्चालनमा ल्याइएको र आगामी दिनमा थप सेवा विस्तार गरिने पनि जनाइएको छ ।


