काठमाडौँ । बढ्दो सहरीकरण र प्लास्टिकजन्य प्रदूषणका कारण काठमाडौँ उपत्यकाको वातावरणीय सन्तुलन बिग्रँदै गएको परिप्रेक्ष्यमा भोलिका कर्णधार मानिने विद्यार्थीहरूलाई जिम्मेवार बनाउने अभियान सुरु भएको छ। लाइभ नेपाल नेटवर्क प्रा. लि.को आयोजना तथा काठमाडौँ महानगरपालिका वडा नं. २८ को कार्यालयको सहयोगमा स्थानीय विद्यालयहरूमा चार दिने ‘वातावरण सम्बन्धी अभिमुखीकरण तथा सचेतना तालिम’ भव्य रूपमा सम्पन्न भएको छ। यसै क्रममा वडा भित्र रहेको शहीद शुक्र माध्यमिक विद्यालयमा दुई दिने विशेष कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि काठमाडौँ महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष भाइराम खड्गीले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि खड्गीले भन्नुभयो, “वडालाई हरित र स्वच्छ बनाउने महानगरको सपना विद्यार्थीहरूको बानी व्यवहारमा परिवर्तन ल्याएर मात्र सम्भव छ। विद्यालय तहदेखि नै सुरु भएको यो चेतनाले घर र समुदायसम्मै सकारात्मक सन्देश फैलाउनेछ।”
विशिष्ट अतिथिको आसनबाट बोल्दै वडा नं. २८ का वडा सचिव कृष्ण सोतीले स्थानीय सरकार सधैँ यस्ता चेतनामूलक र व्यावहारिक कार्यक्रमलाई प्राथमिकता दिन तयार रहेको बताउनुभयो।
त्यस्तै, विशिष्ट अतिथिकै रूपमा मन्तव्य राख्दै शहीद शुक्र माध्यमिक विद्यालयका प्रधानाध्यापक शैली सिंह राठौरले विद्यालयमा यस्तो कार्यक्रम आयोजना गरिँदा विद्यार्थीहरूमा वातावरणप्रति अपनत्व बढ्ने र यसले उनीहरूको सिकाइ प्रक्रियामा ठुलो फाइदा पुर्याउने उल्लेख गर्नुभयो। कार्यक्रममा अतिथिका रूपमा उपस्थित राष्ट्रिय अभिभावक संघका केन्द्रीय सदस्य एवं समाजसेवी गोविन्द भुसालले बालबालिकालाई संस्कार र पर्यावरणको महत्त्व सिकाउनु आजको सबैभन्दा ठुलो आवश्यकता रहेको औँल्याउनुभयो।
तालिमको प्राविधिक सेसनमा वातावरणविद् एवं प्रशिक्षक रमेश न्यौपानेले विद्यार्थीहरूलाई फोहोरको वर्गीकरण र व्यवस्थापनका व्यावहारिक पाटोबारे सिकाउनुभएको थियो। त्यस्तै, प्रशिक्षकद्वय अधिवक्ता जितेन्द्र पाण्डे र साधना बस्नेतले वातावरण संरक्षणसँग जोडिएका कानुनी व्यवस्थाहरू र नागरिकको कर्तव्यबारे विद्यार्थीहरूलाई कानुनी साक्षरता प्रदान गर्नुभएको थियो।
तालिमका क्रममा विद्यार्थीहरूलाई विभिन्न चेतनामूलक खेलहरू खेलाइएको थियो, जसमा विद्यार्थीहरूले कुहिने र नकुहिने फोहोर छुट्याउने र संकलन गर्ने व्यावहारिक अभ्यास गरे। उक्त प्रतिस्पर्धामा उत्कृष्ट हुँदै पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार र प्रशंसा पत्र समेत वितरण गरिएको थियो।
तालिमको अन्त्यमा सहभागी विद्यार्थीहरूले विद्यालयको मैदान र वरपरको क्षेत्रमा सचेतना र्याली निकालेका थिए। विद्यार्थीहरूले “हाम्रो फोहोर हाम्रो जिम्मेवारी !”, “प्लास्टिक मुक्त विद्यालय: सफा र सुन्दर सहर !”, “रुप रोपौँ, वातावरण जोगाऔँ !” जस्ता नारा लगाउँदै विद्यालय हाता परिक्रमा गरेका थिए।
दीर्घकालीन प्रभावका लागि विद्यालयमा ‘ग्रिन क्लब‘ (Green Club) समेत स्थापना गरियो, जसले विद्यार्थीहरूलाई भविष्यमा पनि वातावरण सफा राख्न उत्प्रेरित गर्नेछ। यस कार्यप्रति विद्यालयका शिक्षक-शिक्षिकाहरूले खुसी व्यक्त गर्दै संस्थाले विद्यार्थीलाई दायित्वबोध गराएको बताए।
उक्त कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, ठुलो संख्यामा विद्यार्थीहरू र पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थाहा भएको छ। कार्यक्रमको प्रभावकारी संचालन पत्रकार तथा समाजसेवी सावित्री साबु बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व लाइभ नेपाल नेटवर्क प्रा. लि.का अध्यक्ष पुष्कर राज पाण्डेले गर्नुभएको थियो।
सभापति पाण्डेले कार्यक्रमको निष्कर्ष प्रस्तुत गर्दै यो अभियान केवल तालिममा मात्र सीमित नभई दिगो वातावरणीय सुधारको प्रस्थानविन्दु बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
