काठमा डौँ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) कीर्तिपुर नगर कमिटीको आयोजनामा मकवानपुरस्थित कुलेखानी भिलेज रिसोर्टमा बिदाइ तथा स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कीर्तिपुर नगरपालिकाका नगर शिक्षा प्रमुख श्री टङ्क गैरेको सम्मानसहित बिदाइ तथा नवनियुक्त नगर शिक्षा प्रमुख श्री बिमल निरौलाको हार्दिक स्वागतका लागि उक्त कार्यक्रम आयोजना गरिएको हो।
कीर्तिपुर नगरपालिकाका प्रमुख (मेयर) श्री कृष्णमान डंगोलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कीर्तिपुर क्षेत्रका विद्यालय सञ्चालक, प्राचार्य तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा निवर्तमान नगर शिक्षा प्रमुख टङ्क गैरेले आफ्नो कार्यकालमा कीर्तिपुरको शिक्षा क्षेत्रको विकास, गुणस्तरीय शैक्षिक वातावरण निर्माण तथा विद्यालय र स्थानीय तहबीचको सहकार्य अभिवृद्धिमा पुर्याउनुभएको योगदानको उच्च प्रशंसा गरिएको थियो। प्रमुख अतिथि मेयर डंगोल तथा प्याब्सन पदाधिकारीहरूले उहाँलाई सम्मानपूर्वक बिदाइ गरेका थिए। सोही अवसरमा नवआगन्तुक नगर शिक्षा प्रमुख बिमल निरौलालाई खादा र माला लगाएर हार्दिक स्वागत गर्दै उहाँको सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रमका वक्ताहरूले कीर्तिपुरको समग्र शैक्षिक विकासका लागि निजी तथा सामुदायिक विद्यालय, स्थानीय सरकार र सरोकारवालाहरूबीचको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
सौहार्दपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमको समापन गर्दै प्याब्सन कीर्तिपुरका अध्यक्ष श्री रवी भण्डारीले शिक्षा क्षेत्रको गुणस्तरीय विकास र साझा उद्देश्य प्राप्तिका लागि सबै पक्षबीच निरन्तर सहकार्य, आपसी विश्वास र सकारात्मक सोच अपरिहार्य रहेको बताउनुभयो। उहाँले व्यस्तताका बाबजुद कार्यक्रममा उपस्थित भई शोभा बढाइदिने प्रमुख अतिथि, अतिथिहरू तथा सम्पूर्ण विद्यालय परिवारप्रति हार्दिक आभार समेत प्रकट गर्नुभएको थियो।
