काठमाडौं । महालक्ष्मी विकास बैंकले भदौ ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १८औं संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ ।
नाडा अटो शोमा बैंकले सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई आवश्यक कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय गर्ने जनाएको छ । बैंकले विकास बैंकहरूमध्ये प्रतिस्पर्धी ब्याजदरमा सवारी कर्जा प्रदान गर्दै आएको उल्लेख गर्दै अटो शोका अवसरमा आकर्षक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउने जनाएको छ ।
बैंकका अनुसार भदौ महिनाका लागि सवारी कर्जाको आधार दर ५.६४ प्रतिशत कायम छ । यसका आधारमा योग्य ग्राहकले सवारी कर्जा लिन सक्नेछन् । साथै, बैंकले प्रशासनिक शुल्कमा समेत विशेष छुट दिने जनाएको छ ।
महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन चाहने ग्राहकले नाडा अटो शोमा रहेको बैंकको स्टल नम्बर एल, हल नम्बर ४ मा सम्पर्क गर्न सक्नेछन् । बैंकले विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको अटो शोमा महालक्ष्मी विकास बैंकले पनि नियमित रूपमा सहभागिता जनाउँदै आएको छ ।
बैंकले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ । हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउन्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

