
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले सर्वसाधारणका गुनासा प्रत्यक्ष सुन्ने उद्देश्यले मन्त्रालयमै बोलाएर समस्या सुन्ने पहल गरेका छन् । विशेषगरी गाउँ–गाउँबाट आएका नागरिकहरूले आफ्ना पीडा र समस्या गृहमन्त्रीसमक्ष राखेका थिए । गुनासा राख्ने क्रममा अधिकांश सर्वसाधारणले न्याय पाउन अझै कठिन रहेको बताएका छन् । उनीहरूले शक्ति र पहुँचकै भरमा अन्याय सहनुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा सहभागी नागरिकहरूले गृहमन्त्री गुरुङलाई भेट्न पाएकोमा खुसी व्यक्त गर्दै विगतका अनुभवसमेत सुनाएका थिए । एक सर्वसाधारणले भने, “धेरै गृहमन्त्रीहरू बने, तर तपाईँजस्तो हामीजस्ता सर्वसाधारणको गुनासो सुन्ने व्यक्ति पाउन सकेनौँ । हाम्रो कुरा सुन्नुभएकोमा धन्यवाद ।” गृहमन्त्री गुरुङले नागरिकका गुनासालाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले राज्यको सेवा सबै नागरिकसम्म पुग्ने गरी काम गर्ने र अन्यायमा परेकालाई न्याय दिलाउनेतर्फ आफू प्रतिबद्ध रहेको बताएका छन् ।