
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को कडाइपूर्वक पालना गर्न सबै रोजगारदाता र श्रमिकहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रोजगार सम्झौता नगरी कुनै पनि श्रमिकलाई काममा नलगाउन आग्रह गरेको छ । साथै, तोकिएको कार्य समयभन्दा बढी समय काममा लगाउने अभ्यासलाई कानुनविपरीत भन्दै रोक्न चेतावनी समेत दिएको छ ।
श्रम ऐनअनुसार दैनिक ८ घण्टा र साप्ताहिक ४८ घण्टाभन्दा बढी काम गराउन नपाइने तथा अतिरिक्त समय काम गराउँदा समेत निश्चित सीमा र नियम पालना गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले स्मरण गराएको छ । मन्त्रालयका अनुसार केही अस्पताल, स्वास्थ्य संस्था तथा अन्य प्रतिष्ठानहरूमा चिकित्सक, नर्सिङ स्टाफ र अन्य कर्मचारीहरूलाई बिना सम्झौता र अतिरिक्त समय काम गराइएको गुनासो प्राप्त भएपछि यो निर्देशन जारी गरिएको हो ।
मन्त्रालयले कानुन उल्लङ्घन गर्ने रोजगारदातामाथि श्रम ऐन, २०७४ बमोजिम कडा कारबाही हुने चेतावनी पनि दिएको छ ।