काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ । बीमा सर्भेयरको कामलाई व्यवस्थित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई सर्भेयरको व्यवसायिक निष्ठा, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी क्षतिको वास्तविक र न्यायोचित मूल्यांकन गर्न निर्देशन जारी गरिएको हो।

सर्भेयर भएर काम गर्न चाहनेले परीक्षा उत्तीर्ण गरेपछि निवेदन दिएमा प्राधिकरणले ७ दिनभित्र इजाजतपत्र दिनेछ। तर यसअगावै इजाजत पाएकाले भने परीक्षा दिनुनपर्ने व्यवस्था गरिएको छ ।
व्यक्तिगत सर्भेयरले बढीमा ५ वटा र संस्थागत सर्भेयरले बढीमा १० वटासम्म सर्भे प्रतिवेदन बुझाउन बाँकी रहेको अवस्थामा सोही व्यक्ति वा संस्थालाई नियुक्ति गर्न नपाइने व्यवस्था छ। सर्भेयरले निष्पक्ष र न्यायोचित ढंगले क्षतिको सर्भे गर्ने, वैज्ञानिक मूल्यांकन र प्रमाणको आधारमा प्रतिवेदन तयार गर्ने, बीमितलाई सूची बनाएर एकमुष्ठ पत्र मार्फत आवश्यक कागजात माग्नुपर्ने, अपुग कागजातको विवरण बीमकलाई जानकारी दिनुपर्ने, सर्भेमा लगाउन मात्र सर्भेयरको रोष्टर खडा गर्न नपाउने जस्ता व्यवस्था गरिएको छ। सर्भे गर्नुअघि बीमितसँग स्वार्थ नजोडिएको घोषणा पनि गर्नु पर्नेछ।

कालोसूचीबाट फुकुवा भएको १ वर्ष पूरा नभएमा, सम्बन्धित बीमकको बहालवाला लेखापरीक्षक वा परामर्शदाता वा बीमकसँग कुनै किसिमको वित्तीय स्वार्थ भएमा र कर नतिरेको पाइएमा सर्भेयरका लागि अयोग्य मानिने व्यवस्था गरिएको छ । सर्भेयरको आचारसंहितामा तोकिएकै समयभित्र काम सक्नुपर्ने छ । व्यक्तिगत आग्रह वा पूर्वाग्रहमा नपरी यथार्थपरक प्रतिवेदन बनाउनुका साथै सर्भेको सिलसिलामा विवाद भएमा सबै पक्षलाई जानकारी दिनुपर्ने छ ।