काठमाडौं । संघीय राजधानी काठमाडौंबाट सञ्चालित विभिन्न मिडियामा कार्यरत पत्रकारहरूमाथि प्रहरीले धरपकड गरेको भोलिपल्ट नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीहरूको विषयलाई उल्लेख गरेर स्टाटस लेखेका छन् । आईजीपी कार्कीले विपत्का बेला सञ्चारकर्मीलाई निष्पक्ष, तथ्यपूर्ण र साहसिक रूपमा समाचार सम्प्रेषण गर्ने वातावरण बनाउन नेपाल प्रहरी प्रतिबद्ध रहेको बताएका हुन् ।
सम्भावित वर्षा, हावाहुरी तथा त्यसबाट उत्पन्न हुन सक्ने विपत्को जोखिम न्यूनीकरणका सन्दर्भमा सन्देश जारी गर्दै आईजीपी कार्कीले सञ्चारकर्मीको भूमिकालाई महत्त्वपूर्ण रहेको बताएका हुन् । ‘विपत्बाट जनधनको सुरक्षा गर्ने कार्यमा नेपाल प्रहरी दत्तचित्त भएर सधैँझैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहनेछ । यस क्रममा यहाँहरूको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा राखेका छौँ,’ उनले भनेका छन्, ‘यस्तो संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मी साथीहरूको महत्त्वपूर्ण भूमिका रहन्छ ।
नेपाल प्रहरीले सञ्चारकर्मी साथीहरूको निष्पक्ष, तथ्यपूर्ण एवं साहसिक रिपोर्टिङको सदैव अपेक्षा गर्दछ । साथै, सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ ।’

