काठमाडौँ । परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने कार्यतालिका छ ।
उक्त भेटमा पनि प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल हुने अपेक्षा गरिएको छ। भेटघाट सकेर उनी आजै अपराह्न स्वदेश फर्किनेछन् ।
नेपाल भ्रमणका क्रममा उनले बुधबार दिनभर नेपाल सरकारका विभिन्न मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल–भारतबिचको सहकार्यका सम्भावित क्षेत्र र भ्रमणका क्रममा उठाउन सकिने विषयबारे छलफल गरेका थिए। सरोकारवाला मन्त्रालयसँगको छलफलपछि भ्रमणका ठोस एजेन्डा तय हुने बताइएको छ।
मिस्रीले बुधबार परराष्ट्र सचिव राईसँग द्विपक्षीय भेटवार्ता गर्दै प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तथा सम्भावित एजेन्डाबारे छलफल गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार दुई सचिवबिच विशेषगरी आगामी उच्चस्तरीय भ्रमणको तयारीका विषयमा कुराकानी भएको थियो।
भ्रमणका क्रममा हवाई, रेल, सडक तथा पुललगायत पूर्वाधारमार्फत दुई देशबिचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयले प्राथमिकता पाउने अपेक्षा गरिएको छ। त्यसैगरी द्विपक्षीय व्यापार प्रवर्द्धन तथा सहजीकरण, विकास सहकार्यलाई प्रभावकारी बनाउने, ऊर्जा क्षेत्रमा विद्यमान सहकार्यको दायरा विस्तार गर्ने र दुई देशका नागरिकबिचको जनस्तरको सम्बन्ध थप सुदृढ बनाउनेलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मंसिरको पहिलो सातादेखि हुने भनिएको प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई ध्यानमा राखेर विदेश सचिव मिस्रीको नेपाल भ्रमण केन्द्रित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा हुन सक्ने छलफलका सम्भावित विषय र एजेन्डाबारे परराष्ट्र सचिव राई तथा विभिन्न मन्त्रीहरूसँग परामर्श गरिएको मन्त्रालयको भनाइ छ।
दुई देशका सचिवबिच भ्रमणका मुख्य विषयमा प्रारम्भिक छलफल भए पनि भ्रमणको अन्तिम एजेन्डा भने तय हुन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

