काठमाडौँ, कार्तिक — झिलिमिली बत्तीको पर्व तिहार, आस्थाको महापर्व छठ तथा नयाँ वर्ष नेपाल संवत् ११४५ (न्यु भिन्तुना) को पावन अवसरमा काठमाडौँमा एक भव्य शुभकामना आदानप्रदान, सांस्कृतिक देउसी-भैलो एवं ज्येष्ठ नागरिक सम्मान समारोह सम्पन्न भएको छ।
लाइभ नेपाल नेटवर्क प्रा. लि., ICT पत्रकार विकास मञ्च र डिजिटल ICT मिडियाको संयुक्त आयोजनामा सञ्चालित उक्त गरिमामय कार्यक्रम लाइभ नेपाल नेटवर्कका अध्यक्ष पुष्कर राज पाण्डेको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा उद्घोषक सावित्री बस्नेत ‘सबु’ ले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, सामाजिक अभियन्ता, प्रतिनिधिसभा सदस्य एवं पूर्व उपसभामुख इन्दिरा राणा मगर तथा सभापति पुष्कर राज पाण्डे , विशिष्ट अतिथिका रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले संयुक्त रूपमा दीप प्रज्वलन गरी समारोहको औपचारिक उद्घाटन गर्नुभएको थियो।
उद्घाटनपश्चात् मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि इन्दिरा राणा मगरले नेपाली चाडपर्वहरूले एकापसमा भाइचारा, सामाजिक सद्भाव र सांस्कृतिक एकता कायम राख्न ठूलो योगदान पुर्याएको बताउनुभयो। साथै, समाजका अनुभवका खानी र ज्ञानका धरोहर ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने परिपाटीले समाजमा नैतिक मूल्य र उत्तरदायित्वको अभिवृद्धि गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारी र टोखा नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष रामभक्त गिरीको उपस्थिति रहेको थियो। नगर प्रमुख अधिकारीले टोखाको समृद्धि, सांस्कृतिक जगेर्ना र सामाजिक विकासमा नगरपालिका निरन्तर लागिपरेको बताउँदै सम्पूर्ण नगरवासीमा चाडपर्वको शुभकामना व्यक्त गर्नुभयो।
समारोहमा विनायक अस्पतालका कार्यकारी निर्देशक केपी लामिछाने, राष्ट्रिय अभिभावक संघका केन्द्रीय सचिवालय सदस्य एवं काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन समितिका सल्लाहकार गोविन्द प्रसाद भुसाल, सामाजिक अभियन्ता रुद्र कुमार जोशी, चेतना महिला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापक शान्ता पण्डित र उर्मिला अमात्य, जलधारा टोल सुधार समितिका अध्यक्ष मोती श्रेष्ठ, जलधारा महिला समाजका प्रतिनिधि, वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनी, मुधि धं कसाः पुचःका अध्यक्ष, समाजसेवी सुनिल श्रेष्ठ, साथै स्वतन्त्र पत्रकार संघ काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्षहरू लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो।
आयोजक संस्थाका तर्फबाट कृष्ण राज तिमल्सिनाले स्वागत मन्तव्य व्यक्त गर्दै उपस्थित सम्पूर्ण अतिथिहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो। कार्यक्रमको पहिलो र दोस्रो चरणमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूद्वारा मौलिक देउसी-भैलो तथा विविध सांस्कृतिक नृत्य प्रस्तुत गरिनुका साथै ज्येष्ठ नागरिक तथा विशिष्ट व्यक्तित्वहरूलाई खदा, दोसल्ला र सम्मानपत्रद्वारा विशेष सम्मान अर्पण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि तथा सहयोगी संस्थाहरूलाई आयोजकका तर्फबाट मायाको चिनो (Token of Love) प्रदान गरिएको थियो।
समारोहको समापन गर्दै सभापति पुष्कर राज पाण्डेले कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण अतिथि, सहभागी एवं सहयोगी संस्थाहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै सभा विसर्जन गर्नुभएको थियो।
