
जेष्ठ ४, बझाङ । नेपाल प्रहरी जस्तो गरिमामय सुरक्षा संस्थामा कार्यरत रहँदै आफ्नो कर्तव्य निर्वाहको क्रममा असामयिक निधन भएका स्व. प्रहरी नायब निरीक्षक योगेन्द्र कुमार बोहराको सम्झनामा अब उनको जन्मथलो मष्टा गाउँपालिका–७, ठकुन्ना (मज्याडा) मा “योगेन्द्र स्मृति संरचना” निर्माण गरिने भएको छ।
२०८१ फागुन १९ गते, ड्युटीको क्रममा गोदावरी नगरपालिका–१ मा स्कुटर दुर्घटनामा परेर ३४ वर्षको उमेरमा जीवन गुमाएका स्व. बोहरा न केवल एक कर्मनिष्ठ प्रहरी थिए, तर गाउँ-समाजमा सबैका प्रिय, मिलनसार, समाजसेवी युवा थिए। आफ्नो कर्तव्य र कसमप्रति ईमानदार व्यक्तित्वका रूपमा उनी पहिचानिएका थिए।
स्व. बोहराको योगदान र सम्झनालाई संस्थागत गर्दै प्रवेश द्वार, शालिक, खानेपानी संरचना, र सार्वजनिक शौचालय निर्माणको निर्णय गरिएको छ। उक्त संरचना निर्माणका लागि सम्पूर्ण राजनीतिक दलका भातृ संगठन, समाजसेवी, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी, विद्यार्थी, पेशाकर्मी तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई आर्थिक, भौतिक र नैतिक सहयोगका लागि हार्दिक अपील गरिएको छ।
“एकले थुकी सुक्छ, सयले थुकी नदि बन्छ” भन्ने भनाइझैं, सबैको थोरै–थोरै सहयोगले ठूलो काम सम्पन्न गर्न सकिन्छ भन्ने विश्वाससहित अभियानमा जुटिएको हो।
स्व. योगेन्द्र बोहराको सम्मानमा निर्माण हुने स्मृति संरचना केवल एक भौतिक संरचना मात्र नभई, यो नयाँ पुस्तालाई कर्तव्य, सेवा र देशभक्तिको भावना सिखाउने प्रेरणाको केन्द्र बन्नेछ।