
काठमाडाैं, २८ कार्तिक । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरू आयोजना गर्दै मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले देशव्यापी रक्तदान कार्यक्रम, खेलकुद प्रतियोगिता, वित्तीय साक्षरता कार्यक्रम र नयाँ बचत योजना सार्वजनिक गरेको छ।
कार्तिक २७ गते बिहीबार बैंकको केन्द्रीय कार्यालयसहित सम्पूर्ण क्षेत्रीय कार्यालयहरूमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो। विभिन्न स्थानमा आयोजित रक्तदान कार्यक्रममा कुल ४२९ पिन्ट रगत संकलन भएको छ। बुटवल क्षेत्रमा बैंकका सञ्चालक भिमप्रसाद तुलाचनले कार्यक्रमको उद्घाटन गरेका थिए भने केन्द्रीय कार्यालयमा नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटलका भावना पाण्डेलाई ब्लड व्याग हस्तान्तरण गरेर उद्घाटन गरेका थिए। विराटनगर, बर्दिबास, नारायणगढ, पोखरा, बुटवल र नेपालगञ्ज शाखाहरूमा पनि रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।
साथै, बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा पाँचौं अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटबल कप प्रतियोगिता आयोजना गरेको थियो। पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएका छन्। १९ औं वार्षिकोत्सवको अवसरमा अमरसिंह शाखाले अमरसिंह उच्च मावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तीय साक्षरता कार्यक्रम पनि सञ्चालन गरेका छन्।
यस अवसरमा बैंकले बालबालिकाका लागि लक्षित नयाँ निक्षेप योजना “अल्फा ग्रो” पनि सार्वजनिक गरेको छ। १८ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको यस खातामा ग्राहकले खाता खोल्दा आकर्षक उपहार प्राप्त गर्नेछन् र खातावालाको रु. ५० हजारसम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ। बैंकले यस जीवन बीमाको प्रिमियम खातावालाले १८ वर्ष नपुग्दासम्म भुक्तानी नगर्ने जनाएको छ।
बैंकका अनुसार “अल्फा ग्रो” खाताले बालबालिकामा बचत गर्ने बानी विकास गर्न र अभिभावकलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।