काठमाडौँ । इजरायलमा आज नयाँ संसदका लागि आम निर्वाचन भइरहेको छ । सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण र त्यसपछिको क्षेत्रीय युद्धपछिको यो पहिलो आम निर्वाचन हो । निर्वाचनमा करिब ७३ लाख मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन् ।
यो निर्वाचनलाई वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको राजनीतिक भविष्य र सत्ताका लागि हालसम्मकै ठूलो परीक्षणका रूपमा हेरिएको छ ।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतन्याहूले १९ वर्ष सरकारको नेतृत्व गरिसकेका छन्। तर यसपटकको निर्वाचनमा उनको लिकुड पार्टी र दक्षिणपन्थी सहयोगीहरूको गठबन्धनले पूर्वसेनाप्रमुख गादी आइजेनकोट नेतृत्वको प्रतिस्पर्धी गठबन्धनसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।
नेतन्याहूले आफ्नो चुनावी अभियानमा युद्धकालीन नेतृत्व र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धलाई मुख्य उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उनलाई ट्रम्पको समर्थन रहेको छ भने इरानविरुद्धको युद्धमा पनि अमेरिका इजरायलकै पक्षमा उभिएको छ ।
१२० सदस्यीय इजरायली संसदमा सरकार गठनका लागि कम्तीमा ६१ सिट आवश्यक पर्छ । निर्वाचन अघिको जनमत सर्वेक्षणहरूले कुनै पनि एक पक्षलाई स्पष्ट बहुमत मिल्न कठिन हुने देखाएका छन् । जसले गर्दा चुनावपछि गठबन्धन सरकार बनाउन कडा राजनीतिक रस्साकस्सी हुने देखिन्छ।
मतदान समाप्त भएलगत्तै एक्जिट पोलहरू सार्वजनिक हुनेछन् । प्रारम्भिक र आधिकारिक परिणाम आउने क्रम आगामी केही दिनसम्म जारी रहनेछ भने पूर्ण तथा अन्तिम नतिजा नोभेम्बरको पहिलो साताभित्र आउने अपेक्षा गरिएको छ ।
यस निर्वाचनको परिणामले इजरायलको आगामी आन्तरिक राजनीति मात्र नभई मध्यपूर्वको भूराजनीतिमा समेत गहिरो प्रभाव पार्ने देखिन्छ ।
