काठमाडौं । काठमाडौंस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ पढ्दै गरेका विद्यार्थीहरूले शुक्रबार भक्तपुरस्थित नेपाल इको प्यानल उद्योगको स्थलगत अवलोकन भ्रमण गरेका छन्। विद्यालयको प्राविधिक शिक्षा कार्यक्रमअन्तर्गत अध्ययनरत ४९ जना विद्यार्थीहरूले आधुनिक तथा वातावरणमैत्री निर्माण सामग्रीबारे प्रत्यक्ष जानकारी लिने उद्देश्यले उक्त भ्रमण गरेका हुन्।
भ्रमणका क्रममा विद्यार्थीहरूले इपिएस सिमेन्ट (EPS Cement) मा आधारित स्यान्डविच प्यानलको उत्पादन प्रक्रियालाई नजिकबाट हेर्ने अवसर पाएका थिए। विद्यार्थीहरूलाई उद्योगका प्रोजेक्ट म्यानेजर एवं भूकम्प इन्जिनियर कृष्णसुन्दर कुम्पाखले कच्चा पदार्थको छनोटदेखि अन्तिम उत्पादनसम्मका चरणहरूबारे जानकारी दिएका थिए। साथै, यी सामग्रीहरू दिगो र भूकम्प प्रतिरोधी भवन निर्माणमा कसरी उपयोगी हुन्छन् भन्ने प्राविधिक पक्षबारे पनि उनले प्रष्ट पारेका थिए।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) इन्जिनियर कृष्णभक्त दुवालले उद्योगले विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा यस्ता शैक्षिक भ्रमणहरूमा सहजीकरण गर्दै आएको बताए। उनले भने, “हाम्रो मुख्य उद्देश्य भनेको विद्यार्थीहरूले कक्षाकोठामा सिकेको सैद्धान्तिक ज्ञान र कार्यस्थलको व्यावहारिक अभ्यासबीचको दूरीलाई कम गर्नु हो।”
इन्जिनियर दुवालले नेपाल इको प्यानल केवल उत्पादन केन्द्र मात्र नभई वातावरणमैत्री निर्माण प्रविधिको प्रवद्र्धन गर्ने एक ‘सिकाइ केन्द्र’ का रूपमा विकसित हुँदै गएको समेत उल्लेख गरे।
यस भ्रमणबाट विद्यार्थीहरूले आधुनिक निर्माण सामग्रीको प्रयोग र त्यसको वातावरणीय प्रभावबारे व्यावहारिक ज्ञान हासिल गरेका छन्।

