
काठमाडौं ।अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले भरिपूर्ण आँपलाई फलफूलको राजा समेत भनिन्छ ।
तर पछिल्लो समय बजारमा छिटो उपलब्ध गराउने होडबाजीले प्राकृतिक रुपमा पाक्न नपाउँदै विभिन्न किसिमका विषादीहरूको प्रयोग गरेर पकाइएका आँपहरू बजारमा छ्यापछ्याप्ती पाइन्छन् ।
जसले फलको स्वादमा त असर गर्छ नै साथै हाम्रो स्वास्थ्यमा पनि यसले नकारात्मक असर गर्ने चिकित्सकहरू बताउँछन् ।
यस्ता आँप पहिचान गर्न केही सजिला उपाय अपनाउन सकिन्छ ।
सुगन्धबाट चिन्ने तरिका
प्राकृतिक रूपमा पाकेको आँपबाट मीठो र ताजा फलफूलको सुगन्ध आउँछ । तर केमिकल प्रयोग गरेर पकाइएका आँपमा अस्वाभाविक वा रासायनिक गन्ध महसुस हुन सक्छ । आँप किन्दा यसको बास्ना सुँघेर पनि केही हदसम्म पहिचान गर्न सकिन्छ ।
छामेर जाँच्ने तरिका
प्राकृतिक रूपमा पाकेको आँप हल्का नरम भए पनि भित्रसम्म समान रूपमा पाकेको हुन्छ । तर रासायनिक रूपमा पकाइएका आँप बाहिरबाट धेरै नरम देखिए पनि भित्र काँचो हुन सक्छन् । यस्ता आँपमा पकाइ असमान हुने सम्भावना बढी हुन्छ ।
रङ हेरेर छुट्याउने
केमिकलले पकाइएका आँप प्रायः एकनासले चम्किलो पहेँलो देखिन्छन् । तर भित्र भने अझै काँचो हुन सक्छन् । प्राकृतिक रूपमा पाकेको आँपमा पहेँलो र हरियो रङको मिश्रण देखिन सक्छ, जसले प्राकृतिक पाकाइको संकेत दिन्छ ।
पानी परीक्षण
घरमै सजिलै गर्न सकिने अर्को उपाय भनेको पानीमा डुबाएर जाँच गर्नु हो । आँपलाई पानी भरिएको भाँडोमा राख्दा प्राकृतिक रूपमा पाकेको आँप सामान्यतः डुब्ने गर्छ । यदि आँप पानीको सतहमा तैरियो भने त्यसमा रासायनिक प्रयोग भएको आशंका गर्न सकिन्छ ।
दागप्रति सावधान
आँपको बोक्रामा नीलो, कालो वा सेतो दाग देखिएमा त्यसलाई बेवास्ता गर्नु हुँदैन । यस्ता दागहरू कहिलेकाहीँ रासायनिक पदार्थको प्रयोगका कारण देखिन सक्छन् । त्यसैले दाग लागेको आँप किन्नुअघि सावधानी अपनाउनु उपयुक्त हुन्छ ।
गर्मी मौसममा आँप स्वाद र स्वास्थ्य दुवैका लागि लाभदायक फल हो । तर सुरक्षित र गुणस्तरीय आँप छनोट गर्न खरिद गर्दा यसको सुगन्ध, रङ, बनावट र बाहिरी अवस्थालाई ध्यानपूर्वक जाँच्नु आवश्यक छ । यसले तपाईँलाई प्राकृतिक रूपमा पाकेको र स्वस्थकर आँप रोज्न मद्दत पुर्याउँछ ।
