काठमाडौं । बर्डफ्लुको प्रभावका कारण उत्पादन घटेपछि बजारमा अण्डाको मूल्य फेरि बढ्न थालेको छ। उत्पादनमा कमी र उपभोक्ता माग बढेसँगै नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नयाँ मूल्य निर्धारण गरेको हो।
संघका अनुसार आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट ५०० रुपैयाँ, मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ र सानो अण्डा ४१५ रुपैयाँ कायम गरिएको छ। सबै आकारका अण्डामा प्रतिक्रेट ५० रुपैयाँसम्म मूल्य वृद्धि गरिएको हो।
नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुका कारण दैनिक अण्डा उत्पादन ४५ लाख गोटाबाट घटेर करिब २८ लाख गोटामा झरेको छ। उत्पादनमा आएको कमीका कारण बजारमा आपूर्ति घटेको र त्यसको प्रभाव मूल्यमा देखिएको उनले बताए।
उनका अनुसार जेठको अन्तिमतिर प्रतिक्रेट ५५० रुपैयाँ पुगेको अण्डाको मूल्य पछि घटेर ४५० रुपैयाँमा झरेको थियो। हाल भने खपत बढेसँगै मूल्य पुनः बढ्न थालेको हो।
अध्यक्ष पोखरेलले एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा (प्रतिगोटा १९ रुपैयाँ १२ पैसा) पर्ने भएकाले हालको मूल्य वृद्धि भए पनि किसानले अझै लागत मूल्यसमेत नपाएको बताए।
बर्डफ्लुका कारण कुखुरापालक किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै उनले प्रभावित किसानलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने माग पनि गरेका छन्।

