काठमाडौं । “शिक्षा नारीको, प्रगति राष्ट्रको!“ भन्ने मूल नारालाई आत्मसात् गर्दै काठमाडौंको टोखा वाड न ९ मा सञ्चालित चेतना महिला माध्यमिक विद्यालयले एक भव्य कार्यक्रमको आयोजना गरेको छ । एसईई परीक्षामा सफलता हासिल गरेका विद्यार्थीहरूलाई सम्मान तथा शुभकामना दिन आयोजित कार्यक्रममा १३ वर्षीया किशोरीदेखि ७२ वर्षीया हजुर आमा सम्म एउटै विद्यालयबाट शिक्षाको ज्योति फैलाइरहेको प्रेरणादायी दृश्यले सबैलाई भावुक बनाएको थियो ।
आइसिटी पत्रकार विकास मञ्च, लाइभ नेपाल नेटवर्क , टोखा नगरपालिका र टोखा नगरपालिका वडा नं. ९ को संयुक्त प्रयासमा विद्यालयकै प्राङ्गणमा आयोजित कार्यक्रममा प्रमुख अतिथि, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले महिला शिक्षाको यो अभियानमा सरकार सधैँ साथमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चेतना महिला विद्यालयले शिक्षामा उमेर बाधक बन्दैन भन्ने कुरालाई चरितार्थ गरेको छ । यो विद्यालय महिला सशक्तीकरणको एक ज्वलन्त उदाहरण हो । यसको विकासका लागि आवश्यक सहयोग गर्न सरकारी ऐन, कानुन र नियमले दिएको सबै बाटो अपनाउन म प्रतिबद्ध छु ।
कार्यक्रमको विशिष्ट अतिथि, पूर्व शिक्षा मन्त्री तथा माननीय विद्या भट्टराईले विद्यालयका दिदीबहिनी तथा आमाहरूको लगनशीलताको प्रशंसा गर्दै आफू सधैँ प्रेरणाको स्रोतको रूपमा साथमा रहने बताउनुभयो ।
सफलताको कथाः पूर्वविद्यार्थीदेखि संस्थापकसम्म
कार्यक्रमको सबैभन्दा मार्मिक क्षण तब बन्यो जब यसै विद्यालयकी पूर्वविद्यार्थी तथा हाल गोरखाको धार्चे गाउँपालिकाकी उपाध्यक्ष सुनिला गुरुङले आफ्नो सफलताको श्रेय विद्यालयलाई दिँदै मन्तव्य राखिन । उनले भनिन्, “आज म जे छु, त्यो यही विद्यालयको जगमा उभिएर बनेको हुँ । म र म जस्ता धेरै दिदीबहिनीको जीवनमा उज्यालो छर्ने यो मन्दिरलाई म कहिल्यै भुल्न सक्दिनँ।“ उनले विद्यालयको स्तरोन्नतिका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दा तालीको गडगडाहटले हल गुञ्जायमान भएको थियो ।
त्यस्तै, विद्यालयकी संस्थापक अध्यक्ष तथा हालकी प्रधानाध्यापक शान्ता पण्डित र सह–प्रधानाध्यापक उर्मिला अमात्यले २१ वर्षअघि देखेको सपना आज साकार भएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँहरूले अनेकौं चुनौतीका बाबजुद विद्यालयलाई निरन्तरता दिएको र आज हजारौं नारीहरू विभिन्न क्षेत्रमा सफल भएको देख्दा गर्व लागेको बताउनुभयो ।
स्थानीय सरकारको प्रतिबद्धता
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले चेतना महिला विद्यालय टोखाको गहना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो विद्यालयको संरक्षण र संवद्र्धन गर्नु हाम्रो दायित्व हो। स्थानीय सरकारले यसका लागि आवश्यक बजेट र नीतिगत सहयोग उपलब्ध गराउनेछ ।“ कार्यक्रममा वडा नं. ९ का अध्यक्ष रामभक्त घिमिरे, समाजसेवी के.पी. लामिछाने, वरिष्ठ सञ्चारकर्मी श्रीराम पुडासैनी, कृष्ण सापकोटा, डोल नाथ थापा लगायतले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
सम्मान र समापन
कार्यक्रममा विद्यालयका संस्थापक तथा पूर्व प्रधानाध्यापकलाई ’चेतना गौरव सम्मान’ द्वारा सम्मानित गरिएको थियो भने एसईई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरूलाई प्रमुख अतिथि तथा अन्य अतिथिहरूले प्रमाणपत्र र हौसला प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका सभापति तथा लाईभ नेपालनेटवर्क प्रा लि का अध्यक्ष पुष्कर राज पाण्डेले महिला शिक्षाको यो अभियानलाई सञ्चारको माध्यमबाट देशभर फैलाउन र यस्ता उदाहरणीय कार्यलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैलाई धन्यवाद दिँदै समापन गर्नुभयो । कार्यक्रम सञ्चालिका सावित्री बस्नेत ’सबु’ले रोचक ढंगले कार्यक्रमलाई अगाडि बढाउनुभएको थियो ।

