काठमाडौं । लायन्स क्लब अफ काठमाडौं देउरालीको आयोजनामा ‘पिस पोस्टर कन्टेस्ट’ (शान्ति पोस्टर प्रतियोगिता) कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। अपि विद्यालयको प्राङ्गणमा सम्पन्न भएको उक्त प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका कुल २६ जना बालबालिकाहरूले सहभागिता जनाएका थिए। सहभागी भाईबहीनिहरुले ‘एकतामा सहकार्य’ विषयमा चित्र कोर्दे आफ्नो भावना चित्र द्धारा व्यक्त गरेका थिए । 
बालबालिकाहरूले आफ्नो चित्रकलाको माध्यमबाट विश्व शान्तिको बलियो र रचनात्मक सन्देश प्रवाह गरेका थिए। 
उद्देश्य र विश्वास
क्लबका अध्यक्ष कृष्ण सापकोटाका अनुसार बालबालिकाहरूको सृजनात्मक सोच र शान्तिप्रतिको दृष्टिकोणलाई उजागर गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो। अध्यक्ष सापकोटाले पोस्टरमार्फत बालबालिकाले देखाएको शान्तिको सन्देशले समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले उत्साहजनक रूपमा आफ्नो कल्पना र विचारलाई क्यानभासमा उतारेका थिए।
उपस्थिति
प्रतियोगितामा क्लबका सचिव टेक नारायण सापकोटा, लाईभ नेपाल नेटवर्कका अध्यक्ष पुष्कर राज पाण्डे, नागरिक पोष्ट डट कमकी अध्यक्ष तथा सम्पादक साबित्री बस्नेत (सबु), अपि विद्यालयका शिक्षक–शिक्षिका तथा अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

