
काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा कुमारी बैंक लिमिटेडले इलाममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकको फिक्कल शाखाको पहलमा इलाम नगरपालिका र लुम्बिनी विश्व शान्ति मञ्चसँगको सहकार्यमा इलाम नगरपालिकाको स्वामित्वमा रहेको चियाबगान क्षेत्रभित्र ३०० वटा बिरुवा रोपिएको हो ।
वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले प्राकृतिक सन्तुलन कायम राख्न, वातावरणीय सुधारमा टेवा पुर्याउन तथा जैविक विविधताको संरक्षणमा योगदान पुर्याउने अपेक्षा गरिएको बैंकले जनाएको छ । साथै, जलवायु परिवर्तनका चुनौतीहरूलाई सम्बोधन गर्न उत्तरदायित्वपूर्ण कदमका रूपमा पनि यस कार्यक्रमलाई हेरिएको छ ।
वृक्षारोपणबाट हरियाली विस्तार भई इलामजस्तो पर्यटकीय क्षेत्रको आकर्षण थप वृद्धि हुने विश्वास व्यक्त गरिएको छ । यसले दीर्घकालीन रूपमा दिगो पर्यटन विकासमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कुमारी बैंकले विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकले देशभर फैलिएका २८६ शाखा सञ्जाल तथा ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको छ ।