२२ असोज, काठमाडौं । स्वतन्त्र कानुन व्यवसायी मञ्चले प्रेस विज्ञप्ती निकाल्दै अनसनरत भारती मानन्धरको जीवन रक्षाका लागि आवश्यक कदम चाल्न बाध्य हुने जनाएको छ।
तरुणदल बाँके ३ का तत्कालिन सभापति समेत रहेका रिगल भनीने योगराज ढकालले भारतबाट सञ्चालन हुने बसहरुबाट अवैध हप्ता असुली गर्ने गरेको र उक्त कार्यमा व्यवधान गरेको भन्दै २०७२ साल असार २८ गते अपराह्न ३ बजे चेतन मानन्धरलाई नियन्त्रणमा लिइ सुर्खेत रोड स्थित एक होटलमा अमानवीय तरिकाले निर्ममता पूर्वक खुडा प्रहार गरी जघन्य हत्या भएको थियो ।
उक्त हत्या अभियोगमा बाँके जिल्ला अदालतबाट २०७५।०१।११ मा रिगल भन्ने योगराज ढकाल लगायतका मानिसहरुलाई सर्वस्व सहित जन्मकैद गरी निज अपराधिहरु कैदमा रहेको अवस्था थियो । उल्लेखित फैसलालाई उच्च अदालत र सर्वोच्च अदालतले सर्वस्व सहित जन्म कैदलाई सदर गरेको थियो । उल्लेखित सजायलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मिति २०८०।०६।०३ मा संविधान दिवसको दिन कैद मिनाहा दिई आम माफी दिएको र सो उपर न्यायको याचना गर्दै निजकी श्रीमती भारती मानन्धर अनसनरत छिन्।
न्यायलयबाट दण्डित भएका व्यक्तिहरुलाई राजनीतिक, आर्थिक वा जुनसुकै प्रकृतिको गैर संवैधानिक आवरणको आडमा भएका यस प्रकृतिका मानवता विरोधि अपराधको क्रियाकलापका सन्दर्भमा न्यायलयको गरिमा कायम राख्नका लागि स्वतन्त्र कानुन व्यवसायी मञ्च गम्भिर दुख व्यक्त गर्दै यस मञ्चको मानव अधिकार विभाग र फौजदारी कानुन विभाग समेतको संलग्नतामा अनसनरत भारती मानन्धरको जीवन रक्षा गर्दै पूर्ण रुपमा कानुनको परिपालना गराउनका लागि आवश्यक कदम चाल्न बाध्य हुने जनाएको छ ।