काठमाडौं। सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली, २०८३ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्ले विभिन्न विषयमा ६ वटा निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्री पोखरेलका अनुसार बैठकले नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभमा अग्रिम करको दर निर्धारण गरेको छ । प्राकृतिक व्यक्तिले ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा राखेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा राखेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गरिएको छ ।
त्यस्तै, नेपाल न्याय सेवा, न्याय समूहका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरू ठगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय भएको मन्त्री पोखरेलले बताए ।
साउदी अरेबियामा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी कारबाहीका लागि साउदी नागरिक कानुनी व्यवसायीलाई वारेसनामा दिई प्रक्रिया अघि बढाउनेसम्बन्धी आदेश जारी गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
सरकारले चक्रीय राहत कोष सञ्चालन कार्यविधि, २०८३ समेत स्वीकृत गरेको छ ।
यसैगरी, नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।
