
काठमाडौं । युवा गैरसरकारी संस्था महासंघले गृह मन्त्रालयले अगाडि बढाएको संघसंस्था विधेयकविरुद्धको आन्दोलनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीको साथ रहने बताउनुभएको छ। नागरिक अधिकार कुण्ठित गर्ने गरी ल्याइन लागेको यस विधेयकको विरोधमा महासंघले सञ्चालन गरिरहेको दबाबमुलक कार्यक्रमलाई आफ्नो पूर्ण समर्थन रहेको नेपालले स्पष्ट पार्नुभएको हो।
आज महासंघका अध्यक्ष नारायण गिरीसहितको टोलीले शीर्ष नेताहरूलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्ने क्रममा पार्टी कार्यालयमा पत्र बुझ्दै पूर्व प्रधानमन्त्री नेपालले नेपालमा गैरसरकारी संस्थाहरूको नियमन जरुरी भए पनि नागरिक अधिकार खुम्च्याउने गरी ल्याइने कुनै पनि कानुन आफूहरूलाई मान्य नहुने बताउनुभयो। उहाँले संसदमा आफ्नो पार्टीले यो विषयलाई जोडदार रूपमा उठाउन साथ दिने प्रतिबद्धता व्यक्त गर्दै, समयमै खबरदारी गरेकोमा महासंघलाई आभार समेत व्यक्त गर्नुभयो।
महासंघले जेठ १४ गतेदेखि दबाबमुलक कार्यक्रम गर्दै आएको छ। संस्थाहरूको दर्ता, नवीकरण, वर्गीकरण, अनुगमन तथा मूल्यांकन लगायत थुप्रै कानुनी व्यवस्थापन नेपालमा तुरुन्तै आवश्यक भए पनि यसका लागि भैरहेको संरचना र व्यवस्थाभन्दा पनि पछि हटेर एकपक्षीय रूपमा नागरिक हक अधिकार कुण्ठित गर्ने गरी अगाडि बढेको विधेयकलाई महासंघले असान्दर्भिक र अस्वाभाविक भन्दै विरोध जनाएको छ।
नागरिक स्वतन्त्रता कमजोर बनाउन सरकारले गृह मन्त्रालयको नेतृत्वमा विधेयक बनाएकोमा महासंघले आपत्ति जनाउँदै आएको छ। यस विधेयक निर्माण प्रक्रियामा नागरिक संस्थाहरूको सहभागिता हुनुपर्ने माग पनि महासंघले निरन्तर राख्दै आएको छ।