काठमाडाैं । सानिमा बैंक लिमिटेडको २२औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुकप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको हो। त्यस्तै, अग्राधिकार सेयर पुँजीतर्फ ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पनि पारित भएको बैंकले जनाएको छ ।
साधारणसभाबाट सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने सञ्चालकमा तेजबहादुर चन्द र महेश घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन भएको छ। सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २९१ अर्ब २१ करोड, कुल निक्षेप २४९ अर्ब ९३ करोड तथा खुद कर्जा सापटी २०३ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप १०.८४ प्रतिशत, कर्जा सापटी ११.१९ प्रतिशत र कुल सम्पत्ति १०.५० प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ। असार मसान्तसम्म निष्क्रिय कर्जा २.८७ प्रतिशत, पुँजीकोष १२.८३ प्रतिशत र तरलता ३०.६८ प्रतिशत रहेको छ । कर्जा–निक्षेप अनुपातको मासिक औसत ८०.७७ प्रतिशत रहेको बैंकले जनाएको छ ।

