
काठमाडाैं, ३१ असार । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा स्वदेशी तथा विदेशी लगानीकर्ताले ढुक्क भएर लगानी गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २३औँ वार्षिक साधारण सभालाई मंगलबार काठमाडौंमा सम्बोधन गर्दै देउवाले भने, “नेपालमा लगानीको वातावरण सहज बनाउन सकेमा, स्वदेशी र विदेशी लगानीकर्ताले दीर्घकालीन रूपमा उर्जा क्षेत्रमा लगानी गर्ने छन्।”
निजी क्षेत्रलाई विद्युत् व्यापारमा पनि समावेश गर्नुपर्ने
उनले स्पष्ट रूपमा भने कि उत्पादित विद्युत् खपत र व्यापारको जिम्मा सरकारको भए तापनि, निजी क्षेत्रलाई समेत व्यापारिक संयन्त्रमा सहभागी गराउनु अत्यावश्यक छ। “सरकार एक्लैले मात्र ऊर्जा व्यापार सम्हाल्न सक्दैन,” देउवाले भने, “निजी क्षेत्रसँग सहकार्य अनिवार्य छ।”
जलविद्युत् कम्पनीको IPO निष्कासन रोक्नु गलत कदम
पूर्वप्रधानमन्त्री देउवाले जलविद्युत् कम्पनीहरूको IPO निष्कासन रोकिनु गलत निर्णय भएको धारणा व्यक्त गरे।
उनका अनुसार, धितोपत्र बोर्डले चाँडै सेयर निष्कासनको प्रक्रिया अगाडि बढाउने छ, जसले जलविद्युत् क्षेत्रमा जनसहभागिता बढाउनेछ।
“ऊर्जा नेपालको प्राकृतिक सम्पत्ति हो”
उनले ऊर्जा क्षेत्रलाई नेपालले पाएको प्राकृतिक आशीर्वादको रूपमा उल्लेख गर्दै हरित ऊर्जामा (Green Energy) थप जोड दिन आग्रह गरे। “हामीसँग नदी छन्, पानी छ, सम्भावना छ — अब चाहिएको भनेको नीति, लगानी र सहकार्य हो,” देउवाको भनाइ थियो।