
काठमाडौं । टोखा नगरपालिका–४ कार्यालयले ज्येष्ठ नागरिकहरूको अधिकार, कानूनी चेतना र सम्मानित जीवनलाई आधार मानेर सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । धापासीस्थित माध्यमिक विद्यालयको सभाहल, फैमालचुलीमा सम्पन्न कार्यक्रममा वडा नं. ४ भित्र बसोबास गर्ने ज्येष्ठ नागरिकहरूलाई नेपालको कानूनी व्यवस्था अन्तर्गत प्राप्त अधिकारबारे विस्तृत जानकारी दिइएको थियो ।
कार्यक्रम वडा अध्यक्ष धमेन्द्र श्रेष्ठ को सक्रिय नेतृत्वमा सम्पन्न भएको थियो । अध्यक्ष श्रेष्ठले कार्यक्रमको क्रममा वडा सदस्य तारा बहादुर थापालाई कार्यक्रम समन्वय गर्ने जिम्मेवारी दिएका थिए । अध्यक्ष श्रेष्ठले भने, “ज्येष्ठ नागरिक हाम्रो समाजका धरोहर हुनुहुन्छ । उहाँहरूको कानूनी अधिकार र सामाजिक सम्मान सुनिश्चित गर्न यस्ता कार्यक्रम निरन्तर गर्न आवश्यक छ। वडा कार्यालय सदैव ज्येष्ठ नागरिकमैत्री गतिविधि अघि बढाउन प्रतिबद्ध छ ।
त्यस्तै, वडा सदस्य तारा बहादुर थापाले, “हाम्रो वडामा रहेका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने र उहाँहरूको अधिकार सुरक्षित गर्ने जिम्मेवारी हाम्रो हो । आजको कार्यक्रमले यस विषयमा थप स्पष्टता ल्याएको छ, आगामी दिनमा पनि वडा कार्यालयले यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ,” भन्दै प्रतिवद्धता जनाए ।
कार्यक्रममा सहभागी ज्येष्ठ नागरिक डिल्लीराम पराजुलीले भने, “यस्ता कार्यक्रमले ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्छ । यो एक चेतनामूलक कार्यक्रम हो जसले हामीलाई आफ्नो अधिकार बुझ्न सजिलो बनाएको छ,” भन्दै खुसी प्रकट गरे ।
यस कार्यक्रममा ज्येष्ठ नागरिक कानूनी सहायता संस्था, अनामनगर ले सहकार्य गरेको थियो । संस्थाका अध्यक्ष श्रृष्टी न्याछोँ, सचिव अनिता कोईराला र सदस्य अनिता पौडेल सक्रिय रहेका थिए । कार्यक्रमका दौरान सदस्य अनिता पौडेलले ज्येष्ठ नागरिकलाई कानूनी अधिकारबारे प्रस्तुति दिएकी थिइन्, जसले सहभागीहरूलाई व्यावहारिक रूपमा कानूनी ज्ञान लिन मद्दत पुर्याएको थियो ।
आयोजक वडा कार्यालयका अनुसार यस्ता कार्यक्रमहरूले ज्येष्ठ नागरिकहरूको जीवनमा कानूनी चेतना अभिवृद्धि गर्ने मात्र नभई उनीहरूको सम्मानित जीवनयापनमा सहयोग पुर्याउने र सामाजिक सहभागिता बढाउने विश्वास गरिएको छ ।