काठमाडौं । “सीप र जाँगर छ भने मागेर खानु पर्दैन” भन्ने पुरानो भनाइलाई जीवन्त प्रमाणित गर्ने पात्र हुन्—राधीका कार्की थापा। साधारण परिवारमा जन्मिएर सीप, संघर्ष र सामाजिक सेवाको बाटो समातेकी उनी आज नेपाली महिलाको आत्मनिर्भरता र साहसको परिचय बनिसकेकी छिन् ।
संघर्षको सुरुवात :-
सुनसरीको इटहरीमा जन्मेकी राधीका दिदी पाँच दिदीबहिनीमध्ये साईँली । एसएलसीसम्मको अध्ययनपछि बहिनीको साथमा टेलरिङ पसल खोल्दै उद्यमको बाटो हिँडिन् । प्रेम विवाहपछि पारिवारिक समस्या आयो—श्रीमान्को अर्को विवाह। जीवनको त्यस्तो मोडमा धेरैजसो महिला निराश हुन्थे । तर राधीका दिदी निराश भइनन, बरु समाजसेवाको बाटो रोजिन् ।
पन्ध्र वर्षपछि पढाइलाई निरन्तरता दिँदै कक्षा १२ सम्म पुर्याइन् । संघर्ष र लगनशीलतालाई आधार बनाएर उनले वि.सं. २०६६ सालमा साथी सविता दाहालसँग मिलेर “महिला सीप विकास केन्द्र, इटहरी” स्थापना गरिन् ।
सीपबाट आत्मनिर्भरता :-
सुरुवाती दिनमा केन्द्रले महिलालाई कपडा सिलाउने, ड्राइभिङ, घरेलु उत्पादनजस्ता तालिम दियो। त्यसपछि फोहोरबाट उपयोगी सामान बनाउने, व्याग, मोतीमाला, लाछा, अचार उत्पादनसम्म विस्तार भयो ।
तालिम मात्रै होइन—उत्पादनलाई बजारसम्म पुर्याउने व्यवस्थापन पनि केन्द्रकै पहलमा भयो। यसरी महिलाले सीपलाई प्रत्यक्ष रोजगारीसँग जोड्न सकेका छन् ।
कोरोना महामारीको कठिन समयमा पनि राधीका कार्की थापाले नयाँ बाटो देखाइन्। महिलालाई पञ्चेबाजा बजाउने तालिम दिएर विवाहमा कमाउने अवसर खोलिदिइन्। परम्परागत रूपमा ‘पुरुषको काम’ मानिने क्षेत्रमा महिलाले पर्खाल तोडेर आत्मनिर्भर बन्ने मार्ग प्रशस्त भयो ।
सम्मान र पहिचान :-
राधीका दिदीको योगदानलाई २०१५ मा काठमाण्डौंमा आयोजित “सेलिब्रेटिङ वुमनहुड नवदेवी सम्मान” बाट कदर गरियो ।
अझ गर्वको कुरा—उनको संघर्ष र सफलताको कथा बेलायतको लिभरपुल जोन मोर युनिभर्सिटी (LJMU) को पाठ्यक्रममा अन्य संघर्षशील महिलासँगै अध्यापन हुँदै आएको छ ।
दृष्टि र दर्शन :-
राधीका दिदीको प्रेरणास्रोत भारतकी मदर टेरेसा हुन्। उनी भन्छिन्—
“परोपकार नै सबैभन्दा ठूलो धर्म हो ।”
उनलाई विश्वास छ—लोककला, हस्तकला, भाषा र संस्कृतिको संरक्षण नगरे समाजको अस्तित्व नै हराउँछ। त्यसैले उनको सपना छ—“महिला सीप विकास केन्द्र” लाई विश्वभरका नेपाली भाषी महिलासम्म पुर्याउने ।
पहिलो भेटको प्रभाव :-
म असमबाट नेपाल भ्रमणमा आएको बेला इटहरीको एउटा चियापसलमा उनको पहिलो भेट भयो। चियाको गन्ध जस्तै—ताजा र गहिरो । छोटो भेटमै उनले जीवन, संघर्ष र सीपको मूल्यबारे बोलेका शब्दहरूले मलाई गहिरो छुन पुग्यो ।
त्यो दिनदेखि मेरो मनमा एउटा प्रश्न खेलिरहेछ –
“कहिले हाम्रा समाजका सबै दिदीबहिनीले पनि सीपलाई बजारमा रुपान्तरण गरेर गर्वका साथ आत्मनिर्भर बन्न सक्लान् ?”
निष्कर्ष :-
राधीका कार्की थापाको कथा कुनै उपन्यास वा चलचित्रको कल्पना होइन—यो वास्तविक जीवनको सशक्त उदाहरण हो । उनी महिलाको लागि मात्र होइन, सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत बनेकी छिन् ।
कला बाँचे कलाकार बाँच्नेछन्, संस्कृतिले बाँच्दा समाज मुस्कुराउनेछ। राधीका कार्की थापा जस्ता पात्रहरूले हामीलाई यसै पाठ पढाइरहेका छन् ।