
काठमाडौं । कुमारी बैंकले ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको छ । दिगो विकासका लक्ष्य (एसडीजी) प्राप्तिका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई आफ्ना प्रडक्ट, प्रक्रिया र साझेदारीमार्फत अघि बढाउँदै बैंकले ‘ग्रिन हायर पर्चेज कर्जा योजना’ सञ्चालनमा ल्याएको हो ।
दिगो, समावेशी तथा जिम्मेवार बैंकिङ अभ्यासलाई निरन्तरता दिँदै बैंकले यो योजना सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET-Nepal) परियोजनाअन्तर्गत ल्याएको हो । जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट (GGGI) लगायत संस्थाको व्यवस्थापन तथा प्रवर्द्धनमा सञ्चालन भइरहेको उक्त परियोजनासँगको साझेदारीमा कुमारी बैंकले सार्वजनिक यातायात क्षेत्रमा विद्युतीय सवारी साधनको प्रयोग विस्तार गर्ने लक्ष्य लिएको छ ।
यस योजनाअन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा संलग्न व्यक्तिहरूले विद्युतीय बस तथा माइक्रो बस खरिदका लागि कुमारी बैंकबाट आकर्षक ब्याजदरमा कर्जा लिन सक्नेछन् । साथै, ऋणीले भुक्तानी गर्नुपर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारण गरिएका अनुदान समेत प्राप्त गर्ने व्यवस्था गरिएको छ । हाल इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेका व्यक्तिहरूले आफ्नो सवारी साधन विद्युतीय बस वा माइक्रो बसमा रूपान्तरण गर्न कर्जा लिएमा थप अनुदान सुविधा पनि उपलब्ध हुने बैंकले जनाएको छ ।
यसका लागि इच्छुक ऋणीहरूले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्ताबाट विद्युतीय बस वा माइक्रो बस खरिद गर्न आवश्यक कागजातसहित कुमारी बैंकका शाखाहरूमा सम्पर्क गर्नुपर्नेछ।


