
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । माघ ५ गते कम्पनीले दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिसम्म कम्पनीले ३९ करोड ४५ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
गत वर्षको यस अवधिसम्म ३२ करोड २४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष २२ दशमलव ३४ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा भने ५६ करोड ७२ लाख रुपैयाँभन्दा बढी छ । यस वर्ष इम्पेयरमेन्ट चार्ज रकम कम हुँदा खुद नाफामा सकारात्मक प्रभाव परेको हो ।
गत वर्ष १९ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको इम्पेयरमेन्ट चार्ज रकम यस वर्ष १८ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको हो । कुल सञ्चालन आम्दानी पनि यस वर्ष करीब ११ प्रतिशत बढी भएको छ । गत वर्ष १ अर्ब २९ करोड रुपैयाँभन्दा बढी रहेको कुल सञ्चालन आम्दानी यस वर्ष १ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा २९ करोड ५७ लाख रुपैयाँभन्दा बढी थियो । गत वर्ष यस अवधिसम्म यो रकम ३७ करोड ५५ लाख रुपैयाँभन्दा बढी रहेकोमा यो वर्ष २१ प्रतिशतले घटेको छ ।
१० प्रतिशत बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै ३ अर्ब ८६ करोड १९ लाख ३० हजार कायम गरेको कम्पनीको जगेडा कोषमा १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढी छ ।
गत असार मसान्तसम्मको तुलनामा दोस्रो त्रैमाससम्म भने कम्पनीको निक्षेप संकलन १ दशमलव २६ प्रतिशत र कर्जा प्रवाह ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कम्पनीले ६३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ ।


